गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम, बंगलादेशलाई दुई स्वर्ण


eShilalekh

७ जेष्ठ २०८०, आईतवार ०९:०४

सिमराः मधेस प्रदेशले बाराको निजगढमा सम्पन्न गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्ण जित्दै प्रथम स्थान हात पारेको छ । निजगढमा जेठ ४ र ५ गते आयोजना गरिएको प्रतियोगितामा ६ स्वर्णसहित तीन रजत र ६ कास्य जित्दै मधेस प्रथम भएको हो ।

गेरोगी र पुम्सेतर्फ भएको १८ स्पर्धामा मधेसका लागि ६ खेलाडीले स्वर्ण दिलाएका हुन् । स्वर्ण पदक जित्नेमा गेरोगीतर्फ नदिम हुसेन, सिदार्थ प्रजापति, अफताब आलम, प्रदीप तिवारी, मनिषा वाइबा र पुम्सेतर्फ निश्चल धामी रहेका छन् ।

यसैगरी चार स्वर्ण, चार रजत र चार कास्य जित्दै कोशी प्रदेश दोस्रो भएको छ । कोशीका लागि गेरोगीतर्फ शिव खड्का, प्रज्ञा परियार, एन्जिला खड्का र पुम्सेतर्फ खुशी गौतम रहेकी छिन् । पदक तालिकाको तेस्रो स्थानमा रहेको लुम्बिनीले तीन स्वर्ण, चार रजत र चार कास्य जितेको छ । लुम्बिनीका लागि गेरोगीतर्फ जस्मिन चौधरी, नवराज बस्नेत र रुपा बुढाथोकीले स्वर्ण पदक जितेका हुन् ।

यता चौथो स्थानमा रहेको बागमती प्रदेशले दुई स्वर्ण, तीन रजत र तीन कास्य हात पारेको छ । बागमतीका लागि गेरोगीतर्फ सदीक्षा कार्की र सुमिना खड्काले पदक दिलाएका हुन् । बागमतीका लागि दुवै स्वर्ण महिला खेलाडीले जितेका थिए ।

प्रतियोगितामा दुई स्वर्ण र तीन रजत जितेको बंगलादेश पाचौं भएको छ । बंगलादेश दुवै स्वर्ण पुम्सेबाट जितेको हो । उसका लागि जनातुल तमन्ना तबसुम र आकाश पटेलले स्वर्ण जितेका हुन् । प्रतियोगितामा कर्णालीले एक स्वर्ण तीन कास्य पदक जितेको छ । कर्णालीका लागि ललिता बुढाले ४० केजी तौल समूहको गेरोगीमा स्वर्ण जितेकी हुन् ।

यसैगरी सूदुरपश्चिमले एक रजतसहित तीन कास्य, भारतको उडिसा र दार्जलिङले समान तीनरतीन कास्य पदक जितेका छन् । प्रतियोगिताको उत्कृष्ट फाइटर पुरुषतर्फ मधेस प्रदेशका अफताब आलम र महिलातर्फ कोशीकी प्रज्ञा परियार घोषित भएका छन् ।

पदक विजेता खेलाडीलाई निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल, पूर्व नगर उपप्रमुख लिलादेवी लामिछाने खनाल, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका अध्यक्ष पेमासिद्धी लामा, अन्तर्राष्ट्रिय निर्णायक एवम् प्रतियोगिताका जुरी टार्जन सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा नेपालको ६ वटा प्रदेशसहित भारत र बंगलादेशका करिब एक सय खेलाडी सहभागी थिए । निजगढ नगरपालिका र गढीमाई नगरपालिकाको सहयोगमा नेपाल तेक्वान्दो संघ मधेस प्रदेशले प्रतियोगिताको आयोजना गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन गढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्