अन्तर विद्यालय ग्रासरुट फूटवल सुरु, उद्घाटन खेलमा फत्तेपुर विजयी


eShilalekh

१६ मंसिर २०७८, बिहीबार २०:०७

सिमराः बाराको सिमरामा विहिवारदेखी सुरु भएको अन्तर विद्यालय ग्रासरुट फूटवल प्रतियोगिताको उद्घाटन खेलमा फत्तेपुर विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका स्तरिय ग्रासरुट फूटवलको पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरले सेन्ट जोन्स स्कुल, हुलासलाई २–० ले पराजित गरेको हो ।


सिमरा रंगशालामा भएको खेलमा फत्तेपुरका लागि अनिश चौधरी र आदेश चौधरीले समान एक÷एक गोल गरे । खेलको म्यान अफ दि म्याच फत्तेपुरका आशिक राय घोषित भए । प्रतियोगिता अन्तर्गत शुक्रवार दुई खेल हुनेछन् । पहिलो खेलमा एक्स सर्भिसमेन एकेडेमी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहा भिड्नेछन् भने लोटस एकेडेमी र सेन्ट अल्फोन्साबसबीच दोस्रो खेल हुनेछ ।


यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी र अखिल नेपाल फूटवल संघका उपाध्यक्ष उपेन्द्रमान सिंहले गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै उपप्रमुख चौधरीले उपमहानगरले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेको बताईन् । उनले ग्रासरुट फूटवललाई समेत उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।


उद्घाटन कार्यक्रममा ग्रासरुट एव्म युथ डेभलपमेन्ट संयोजक समेत रहेका एन्फा उपाध्यक्ष सिंहले ग्रासरुट फूटवल देशका लागि फलदायी हुने बताए । तल्लो तहबाटै फूटवल प्रशिक्षण गरेर राम्रो खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ग्रासरुटको अवधारणा ल्याइएको भन्दै सिंहले देशभर झण्डै ३५ हजार विद्यार्थीले एक साथ प्रशिक्षण दिने एन्फाको उदेश्य रहेको बताए । उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले ग्रासरुट फूटवल नेपाली फूटवल क्षेत्रका लागि कोशेढुंगा सावित हुने बताए ।


ग्रास रुट फाउण्डेशनले आयोजना गरेको प्रतियोगितामा उपमहानगरपालिका भित्रका २४ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २० हजार र उपविजेतालले १० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फर्वाडर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई दुई हजारले पुरस्कृत गर्ने फाउण्डेशनका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।


प्रतियोगितालाई सफल बनाउन उपमहानगरपालिका, एन्फासंगै स्थानिय स्तरका व्यवसायीले सहयोग गरेका छन् । प्रतियोगितालाई प्राणनाथ हार्डवेयरले मुख्य प्रायोजन युआर गोल्ड प्रिमियम मसला चियाले सहप्रायोजन गरेको छ । लुम्बिनी जनरल ईन्सुरेन्सले खेलाडीको विमा गर्दै प्रतियोगितामा आफ्नो उपस्थिती देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्