सिमरामा प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने


eShilalekh

१८ जेष्ठ २०८०, बिहीबार १३:२७

सिमराः बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।

आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ १० वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

यसैगरी एकल कातातर्फ महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने डोजाङ प्रमुख सानु पटेलले जानकारी दिए । पटेलका अनुसार मधेस प्रदेशका प्रत्येक जिल्लाबाट २० जना खेलाडी सहभागी हुनेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना हुन लागेको प्रतियोगितामा अन्य संघसंस्था तथा स्थानीय खेलप्रेमीले सहयोग गर्ने पटेलले जानकारी दिएका छन् । प्रतियोगिता आयोजनाका लागि करिब आठ लाख खर्च हुने अनुमान आयोजकको छ ।

सिमरा खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष कासिम हुसेनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा कराँते प्रशिक्षक हिमालचन्द्र अधिकारी, खानेपानी कार्यालयका प्रमुख सुरज वैद्यलगायको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्