अमलेखगञ्जको स्थायी विकास मेरो लक्ष्य होः वडाध्यक्ष श्रेष्ठ (अन्तर्वार्ता)


eShilalekh

२८ जेष्ठ २०८०, आईतवार ०९:४३

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठ जनप्रतिनिधिका रुपमा निर्वाचित भएको एक वर्ष पूरा भएको छ । शिक्षण पेशाबाट राजीनामा दिएर २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

शिक्षण पेशासंगै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय रहेर वडाबासीको विश्वास जित्न सफल श्रेष्ठले वडाध्यक्षको भूमिकामा एक वर्ष बिताएका छन् । उपमहानगरपालिका भित्रका युवा वडाध्यक्ष मध्येका एक श्रेष्ठको दैनिकि यतिबेला वडाको कामकाजमा वितिरहेको छ ।

चालु आर्थिक वर्षको अन्तिम समयमा विकास निर्माणलगायतका योजना कार्यान्यवनमा व्यस्त रहेका श्रेष्ठ आगामी आर्थिक वर्षको योजना निर्माणको तयारीमा समेत जुटिरहेका छन् । वडाध्यक्षमा निर्वाचित भएलगत्तै खानेपानी र स्वास्थ्यको समस्यालाई प्राथमिकतामा राखेका श्रेष्ठ आफ्नो कार्यकालमा वडा नं. २१ लाई पूर्वाधारसम्पन्न वडाको रुपमा विकास गर्न प्रतिवद्ध रहेको बताउछन् ।

एक वर्षे कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, धर्मसंस्कृतिलगायतका योजनामा आफूले काम गरेको बताउदै आएका श्रेष्ठसंग हामीले एक वर्षको अनुभव र आगामी योजनाको विषयमा कुराकारी गरेका छौं ।

जनप्रतिनिधिको रुपमा एक वर्ष वितेको छ, कस्तो अनुभव गर्दै हुनुहुन्छ?
एक वर्षको जनप्रतिनिधिको अनुभव एउटा छुट्टै जिम्मेवारी बहन गर्नको निम्ति चुनौतीपूर्ण रुपमा अगाडी बढेको महसुस गरिरहेको छु ।

शिक्षक पेशामा हुनुहुन्थ्यो, जनप्रतिनिधि बन्ने रहर कसरी जाग्यो ?
शिक्षा पेशाामा मैले १४ बर्ष निरन्तर काम गरे । त्यो गरिरहदा अमलेखगञ्जमा जुन किसिमको बिकास हुनुपथ्र्यो, जुन किसिमले अमलेखगञ्ज अगाडी बढ्नुपथ्र्यो, त्यो हुन सकेन । त्यसैले त्यो समस्या देखेर समाधान गर्नको निम्ति म शिक्षण पेशाालाई राजीनामा दिएर जनप्रतिनिधि भएको हुँ । जनप्रतिनिधि भइरहदा काम गर्ने सवालमा हरेक क्षेत्रमा चुनौतीहरु आउछ । ति चुनौतीहरुलाई सहजरुपमा समाधान गर्दै यहाँसम्म आईपुगेको छु ।

कस्तो रहयो एक वर्ष?
मैले ५ वर्षे कार्यकाललाई ५ वटा क्षेत्रको लागी छुट्याएको थिए । यो एक वर्ष मैले विशेषगरी शिक्षा, खानेपानीलाई प्रमुख प्राथमिकता दिएर काम अगााडी बढाएको थिए । जसमध्ये शैक्षिक क्षेत्रमा पनी सोचेको जस्तै काम भईरहेको छ र अमलेखगञ्जबासीहरुले लामो समय देखी खानेपानीको अभाव व्यहोर्नुरहेको हुँदा अहिले खानेपानीको समस्या समाधानको भएको छ । अहिले खानेपानी सहज रुपमा वडाबासीले पिउन पाईरहेको प्रत्याभुती भएको छ । खानेपानीको समस्या दिगो रुपमा समाधान गर्नको निम्ति हामीले नयाँ ट्याँकी, नयाँ पाइपलाइन विस्तार गरेका छौं । जुन ट्याँकीबाट हिजोको दिनमा धारामा पानी पनि नआउने घरमा अहिले दुईतल्ला सम्म मज्जाले बिना मोटर पानी चढिरहेको छ ।

एक वर्षमा वडाबासीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मेरो एक बर्षे कार्यकालमा वडा नं. २१ का सम्पूर्ण वडावासीहरुले सहयोग गर्नुभएको छ , बिकास निर्माणका कार्यदेखी लिएर हरेक काममा सहयोग पाएको छु । सकारात्मक प्रतिक्रिया दिनुभएको छ। उहाँहरुको आशा पनि ठुलो छ, उहाँहरुको आशालाई निराशा नहुने किसिमले मेरो कार्यकालमा सहि तरिकाले काम गर्ने छु भनेर प्रतिवद्धता जनाउदछु ।

एक वर्षमा कस्तो कस्तो योजनाले प्राथमिकता पाए?
विशेष गरी मेरो वडागत योजनामा खानेपानी छ, शिक्षा छ । त्यसैगरी सडक पनि छ । सबै जातजातिलाई समेटेर समग्ररुपमा अमलेखगञ्जको बिकास गर्नका निम्ति हामी लागिपरेका छौ । अबको साल २०८०।८१ मा स्वास्थ्य र अव्यवस्थित बासोबासको लागी बिशेष प्राथमिकता दिई काम गर्ने उदेश्य लिएको छु । वडागत बजेट भन्दा मेरो नगर, संघ र प्रदेशको बजेट अलि बढि छ । माननियहरुले सहयोग गरेर वडागत बजेट भन्दा संघ र प्रदेशको बजेटबाट अलि बढि काम भएको छ ।

जनप्रतिनिधिका रुपमा अमलेखगञ्ज बस्तीलाई कसरी हेर्नुभएको छ ?
यो भर्खर सहरमा प्रवेश गर्न लागेको बस्ती हो, तर पुरानो बस्ती हो । बिकासका हिसाबले माथि उठ्न नसकेको अवस्था हो । अमलेखगंजलाई उकास्ने हो भने विशेष गरेर पर्यटन क्षेत्रमा राम्रो सम्भावना छ । हाम्रो उपमहानगरपालिकामा मात्रै नभएर मधेश प्रदेशमै पर्यटनको लागि सम्भावना बोकेको छ । पर्यटनको लागी र बिकासको लागी अगाडी बढ्न विभिन्न कार्यक्रमहरु ग्रिरहेका छौ । साईकिलिङ्गका रुटहरु बनाई रहेका छौ, त्यसैगरी हाईकिङ्गका रुटहरु बनाईराखेका छौ ।

पर्यटन क्षेत्रलाई अघि बढाउन कस्तो योजना छ ?
वडातहबाट समन्वय गरिरहेका छौं । अहिले पनि यहाँ पर्यटकको आगमन भईरहेको हुन्छ , यहाँ घुम्ने ठाँउ छ तर घुमाउने मान्छे नभएर हामीले पर्सा राष्ट्रय निकुञ्जसहित विभिन्न संघसंस्थासंगको सहकार्यमा नेचर गाईडको तालिम दिईरहेका छौ, अहिले पनि तालिम चलिरहेको छ । यसरी हामी अगाडी बढि रहेका छौ । यो क्षेत्रलाई कसरी चिनाउने अगाडि बढाउने भनेर योजना बनाइरहेका छौं । मधेश प्रदेशकै पर्यटन हब भनिएको छ, त्यो सपना साकार हुन्छ भन्ने लागेको छ ।

वन्यजन्तुबाट चलहपलह बढिरहेको छ, सुरक्षाको दृष्टिकोणले यसलाई कसरी लिनुभएको छ ।
अमलेखगञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने हँुदा कुनैपनि चिजको सकरात्मक र नकरात्मक पक्ष हुन्छ । वन्यजन्तु भएपछि पर्यटक आउछन् । जङ्गली हाती पनि त्यतिकै आईरहेको छ । संगसंगै बाघको लागी चिनिने निकुञ्ज पहिलो बर्दिया र अहिले बर्दिया पछिको पर्सा राष्ट्रिय निकुञ्ज दोस्रो स्थानमा भनिन्छ । त्यहि जनावरहरु हेर्न पर्यटकहरु आउने हुन् । तर वन्यजन्तु गाँउ पस्दा मानवीय क्षति भईरहेको छ । त्यसलाई न्युनिकरण गर्नका लागी हामीले बेलाबेलामा वडाबासीलाई बोलाएर कसरी त्यसबाट बच्ने? कसरी सुरक्षित रहने? भनेर सेमिनार, गोष्ठी, जागरुक गर्ने कार्यक्रम चलाईरहेका छौ । त्यसैगरी तारबारका कुराहरु निकुञ्जले गरिरहेको छ । अहिलेसम्म हामी यहि किसिमले अगाडि बढिरहेका छौ ।

अव्यवस्थित बसोबासका लागि कस्तो योजना छ ?
अमलेखगंज बस्तीको सुनिश्चितता गर्नका लागि हामीले निस्सा वितरण गरिसकेका छौं । त्यसको लागि कतै बाट समस्या पनि आएन र हामीले बासोबास स्थायी गर्नको निम्ति रेल्वेको कुरा आउँछ, मध्यवर्तीको कुरा आउँछ र २०५८ सालमै मन्त्रिपरिषद्बाट नेपाल यातायातको जग्गा तत्कालिन श्री ५ सरकारको भनेर मन्त्रीपरिषदको निर्णय भईसकेको छ, त्यो हुँदा अहिले भूमीआयोगको ऐनले के भनिरहेको छ भने १० वर्ष देखी भोगचलन गरिरहेको जग्गा स्वतः रुपमा जनताको हुनेछ । त्यसको आधारमा भुमी आयोगबाट दुईतीन चरणमा अनुगमन भइसकेको हुँदा सकारात्मक प्रतिक्रिया पाएका छौं । छिट्टै नापीको काम शुरु हुनेछ र त्यो किसिमले यसलाई व्यवस्थित गर्न सकिन्छ भन्ने ठ्म्याई छ ।

शिक्षा क्षेत्रमा के कस्ता काम भए ?
जनप्रतिनिधिका रुपमा आउदै गर्दा मैले लिएको दुई वटा एजेण्डा हो खानेपानी र शिक्षा । शिक्षा क्षेत्रमा हिजोको भन्दा आज परिवर्तन भएको छ । सबभन्दा पहिला गुणस्तरीय शिक्षाकै कुरा गर्छु । गुणस्तरीय शिक्षाका लागी हामीले मेरो वडाको विद्यालयमा युनिट टेस्ट, मासिक परीक्षा, अर्धवार्षिक र वार्षिक परिक्षा लिने गरेका छौ । हामीले मासिक परीक्षा लिने हुँदा अहिले पढाईको गुणस्तर बढेको हामिले पाएका छौ । निरन्तर हामी अभिभावकसंग भेटेर बालबालिकाको विषयमा अन्तरक्रिया गरेर अघि बढिरहेका छौ । बार्षिक क्यालेन्डर बनाएर विद्यालयलाई अगाडी बढाएका छौ । त्यो संगसंगै भौतिक संरचनाको अभाव पनि थियो । भौतिक संरचनालाई पनि अगाडी बढाउन सकिरहेका छौ । हामीसंग साईन्स ल्याब थिएन,साईन्स ल्याबको व्यवस्थापन गरेका छौ । पुस्तकालय त थियो तर व्यवस्थित रुपले संचालन गर्न सकेका थिएनौ, अहिले व्यवस्थितरुपले संचालन गरीरहेका छौ । कम्प्युटर ल्याब थियो तर संचालन गर्न सकेको थिएन, अहिले कम्प्युटर ल्याब पनि संचालनमा छ । संगसंगै विद्यार्थीहरुलाई पठन पाठनमा मात्रै नभई अतिरिक्त क्रियाकलापको लागि हरेक शुक्रबार कार्यक्रम राखेर शिक्षालाई नयाँ किसिमले अगाडी बढाईरहेका छौ ।

अन्य जनप्रतिनिधि र कर्मचारीबाट कत्तिको सहयोग पाउनुभएको छ ?
मेरो कर्मचारीहरु सबैले साथ दिनु भएको छ । जनप्रतिनिधिहरु पनि खट्नु हुन्छ । सबैजना आएर मैले नभ्याएको खण्डमा बसिदिनुहुन्छ, सहयोग गर्नुहुन्छ । टोलटोलको समस्या सुन्नु हुन्छ र मलाई जानकारी गराउनुहुन्छ । त्यो अनुसार अगाडी बढिरहेको छु । कुनै समस्या पर्दा जनप्रतिनिधिहरु आफै टोलटोलमा पुग्नुहुन्छ । जनप्रतिनिधि, कर्मचारी सबैको एकदम सकारात्मक साथ पाईरहेको छु ।

र अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, सम्पुर्ण वडावासीहरुले जुन विश्वास दिलाएर यो स्थानमा पुर्याउनु भएको छ । उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु । र तपाईहरुको सपना म पुरा गर्छु, हिजो पनि प्रतिवद्धता गरे र आज पनि गर्छु । यहाँहरुले वडाको जुन परिकल्पना गर्नुभएको छ त्यो परिकल्पना अनुसारको वडा बनाउन र अमलेखगञ्जको स्थायी विकास गरेर म बिदा हुन्छु ।

प्रस्तुतिः निलिसा बर्मा

प्रतिक्रिया दिनुहोस्