ग्रासरुट फूटवल : एक्स सर्भिसम्यान र लोटस एकेडेमी विजयी


eShilalekh

१७ मंसिर २०७८, शुक्रबार १७:५८

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय अन्तर विद्यालय ग्रासरुट फूटवल प्रतियोगिता अन्तर्गत शुक्रवार भएका दुई खेलमा एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमी विजयी भएका छन् ।


सिमरा रंगशालामा भएको पहिलो खेलमा एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहलाई १–० ले पराजित गरेको हो । एक्स सर्भिसको जितमा विशाल चौधरीले निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा निर्णायक गोल गरेका चौधरी म्यान अफ दि म्याच घोषित भए ।


यसैगरी दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २-० ले पराजित गरेको छ । लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान एक/एक गोल गरे । आकाशले खेलको १४औं र दिलकुमारले २९औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विवेक बुढाथोकी घोषित भए ।


प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताए । थापाका अनुसार पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र दोस्रो खेलमा होली गार्डेन स्कुल, पथलैया र ब्राईटर एकेडेमी स्कुल, सिमराबीच हुनेछ ।


उपमहानगरपालिकाको २४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता विहिवारदेखी सुरु भएको हो । प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरी र एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले गरेका थिए ।


पुस ३ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई दुई हजारले पुरस्कृत गरिनेछ ।

प्रतियोगितालाई प्राणनाथ हार्डवेयरले मुख्य प्रायोजन र युआर गोल्ड प्रिमियम मसला चियाले सहप्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्