सिमरा रंगशालामा सोमबारदेखि प्रदेश स्तरीय फूटबल प्रतियोगिता सुरु हुँदै


eShilalekh

१० असार २०८०, आईतवार २०:३७

सिमराः बाराको सिमरा रंगशालामा सोमबारदेखि मधेस प्रदेश स्तरीय फूटबल प्रतियोगिता सुरु हुँदैछ । मधेस प्रदेश फूटबल संघको आयोजनामा राम नारायण मिश्र फूटबल प्रतियोगिताको दोस्रो संस्करण सिमरामा रंगशालामा हुन लागेको हो ।

आयोजक मधेस प्रदेश फूटबल संघले आइतवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ । आयोजकका अनुसार मधेसका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख हरिशंकर मिश्रले गर्ने भएका छन् । मिश्रले साँझ पाँच बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोग र बारा जिल्ला फूटबल संघको सहआयोजनामा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा विधागत पुरस्कार समेत प्रदान गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

रात्री समयमा आयोजना गर्न लागिएको प्रतियोगिता असार १६ गते सम्पन्न हुनेछ । धनुषामा पहिलो संस्करण आयोजना गरेको संघले दोस्रो संस्करण सिमरामा गर्न लागेको हो । सिमरा रंगशालामा फ्लड लाइट उपलब्ध भएका कारण आयोजकलाई रात्री समयमा प्रतियोगिता आयोजना गर्न सहज भएको हो । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा खेल संचालन गर्न कठिन हुने देखिन्छ ।

पत्रकार सम्मेलनमा बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे । उनले प्रतियोगिताको सहआयोजकका रुपमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा संघका मधेस प्रदेश कोषाध्यक्ष शम्भुसिंह ठकुरीसहित प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यको उपस्थिती रहेको थियो ।a

प्रतिक्रिया दिनुहोस्