प्रदेश स्तरीय फूटबल प्रतियोगितामा बाराको बिजयी सुरुवात


eShilalekh

१२ असार २०८०, मंगलवार ०१:२८

सिमराः बारा जिल्ला फूटबल संघले सोमबारदेखिसुरु भएको रामनारायण मिश्र फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा भएको उद्घाटन खेलमा पर्सा जिल्ला फूटबल संघलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै बाराले जित हात पारेको हो ।

जितसंगै बारा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । टाइब्रेरकमा बाराका गोलरक्षक युनेश चौधरीले पर्साका कार्लोस पटेलको प्रहार रोक्दै टिमलाई जित दिलाए ।

पर्साका चार खेलाडीले टाईब्रेकरमा गोल गर्दा कार्लोसको प्रहार भने बारा गोलरक्षक चौधरीले बचाउ गरेका थिए । पर्साका लागि टाइब्रेकरमा कप्तान कृष्ण शाक्य, आदित्य शाक्य, सुजल डंगोल, शिसस थापाले गोल गरे ।

बाराका लागी राष्ट्रिय टिमका खेलाडी रवि पासवानसहित श्याम चौधरी, निरज थापा, अजित चौधरी र मोहित गुरुङले गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बाराका गोलरक्षक युनेश घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल हुनेछन् । पहिलो खेलमा सिरहा र सप्तरी भिड्नेछ भने दोस्रो खेलमा धनुषा र रौतहट प्रतिस्पर्धा गर्नेछन् । मधेस प्रदेश फूटबल संघको आयोजना र बारा जिल्ला फूटबल संघको सहआयोजनामा सुरु भएको प्रतियोगितामा मधेसका आठ जिल्लाको सहभागिता रहेको छ ।

असार १६ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।

यसअघि प्रतियोगिताको उद्घाटन मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतियोगिताको मुख्य सहयोगीको रुपमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालयका मन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, अखिल नेपाल फूटबल संघका उपाध्यक्ष दावा लामालगायतले मन्तब्य राखेका थिए ।

उद्घाटन कार्यक्रममा मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीसहित मधेसको सबै जिल्लाका फूटबल संघका पदाधिकारी, विभिन्न संघसंस्था तथा कार्यालयका प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

मधेस प्रदेश फूटबल संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्