जनमत पार्टीले गर्यो कुशवाहालाई कारवाही, साधारण सदस्य समेत नरहने गरी निलम्बन


eShilalekh

४ श्रावण २०८०, बिहीबार १८:३१

सिमराः डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बाराका शिवचन्द्र कुशवाहालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निलम्बन गरेको छ । अनुशासनहिनता प्रदर्शन गरेको र पार्टी नेतृत्वविरुद्ध लागेको भन्दै जनमत पार्टीले कुशवाहालाई कारवाही गरेको हो ।

कुशावाहा बारा क्षेत्र नं. २ को उपनिर्वाचन लड्न बैशाखमा जनमत पार्टी प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रबाट जनमत प्रवेश गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई चुनौती दिएका कुशवाहा केही महिनामै कारवाहीमा परेका हुन् ।

उपनिर्वाचनमा कुशवाहा जसपा अध्यक्ष यादवसंग पाँच हजार ८१ मतले पराजित भएका थिए । यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्दा कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका थिए । कुशवाहाको चुनावी अभियानलाई सहयोग गर्न डा. राउत निर्वाचन अवधीभर बारा बसेका थिए ।

उपनिर्वाचनमा पार्टी प्रवेश गरेका कुशवाहालाई साउन ३ गते काठमाडौंमा बसेको जनमत पार्टीको बैठकले कारवाही गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुशवाहा गठबन्धनको तर्फबाट उम्मेदवार भएका थिए । उक्त निर्वाचनमा कुशवाहालाई हालका उपराष्ट्रपति रामसहाय यादवले पराजित गरेका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा गठबन्धनबाट जसपा अध्यक्ष यादव आफै उम्मेदवार हुने भएपछि कुशवाहा पार्टी परिवर्तन गर्दै जनमतबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्