बारामा एमालेको प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला सुरु


eShilalekh

४ श्रावण २०८०, बिहीबार २०:०५

सिमराः नेकपा एमालेको मधेस प्रदेश स्तरीय नेतृत्व विकास कार्यशाला विहिबारदेखि बारामा सुरु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित शान्ति वाटिकामा आयोजित तीन दिने कार्यशालाको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन् ।

कार्यशालाको उद्घाटन गर्दै एमालेको पार्टी स्कुल विभाग प्रमुख समेत रहेका ज्ञवालीले मधेसका नेतृत्व तहमा रहेका नेतालाई आगामी एक वर्ष संगठन सुदृढिकरणका लागि केन्द्रीत रहन निर्देशन दिएका छन् । मधेसको प्रदेशसभामा निर्वाचित सांसद एमाले धेरै भएपनि बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्ने ज्ञवालीको बताएका छन् ।

‘संख्यात्मक हिसाबले मधेसमा अहिले पनि एमाले ठुलो पार्टी हो, तर यतिले पुग्दैन’ ज्ञवालीले भने ‘बहुमत प्राप्तिका लागि अझै मेहनत गर्नुपर्छ । त्यसका लागि एक वर्ष संगठन सुदृढिकरणमा ध्यान दिनुपर्ने हुन्छ ।’

मधेस प्रदेशको समृद्धिका लागि एमालेले देखेको सपना पूरा गर्नका निम्ति योजना र कार्यदिशा बनाएर अघि बढ्न ज्ञवालीले नेतृत्व तहलाई सुझाव दिएका छन् । ज्ञवालीले कार्यशालामा एमालेले बनाउन खोजेको मधेस र त्यसका लागि नेतृत्व तहको भूमिकाको छलफल गरिने बताएका छन् ।

भारतको नाकाबन्दीविरुद्ध डटेर सामना गर्ने, सुनकोशीको पानी मरिन हुदै बागमतीमा ल्याएर मधेसमा सिचाइँ सुविधा सहज बनाउने एमाले र भारतविरुद्ध बोल्न नसक्ने अन्य पार्टीबीचको भिन्नता देखाउन पनि नेतृत्वतहले गम्भिरताका साथ अघि बढ्नुपर्ने ज्ञवालीको भनाई थियो ।

कार्यशाला उद्घाटन कार्यक्रममा एमाले सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटव्युरो सदस्य एवम् पार्टी स्कुल संयोजक पुरुषोत्तम पौडेल, पोलिटव्युरो सदस्य एवम् विषय विज्ञ प्रशिक्षक ईश्वरी रिजाल, पोलिटव्युरो सदस्य एवम् सांसद अच्युत मैनाली, पोलिटव्युरो सदस्य एवम् सांसद ज्वालाकुमारी साहलगायत मधेस प्रदेशबाट एमालेको केन्द्र, प्रदेश र जिल्लाको नेतृत्व तहमा रहेका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्