पहिलो पटक महिनावारी हुँदा


eShilalekh

२६ श्रावण २०८०, शुक्रबार १५:५०

सिमराः एकाबिहानै मोबाइलमा फेसबुकको नोटिफिकेशन आयो । हेर्दा छिमेकी दिदीले मलाई ट्याग गरेर फेसबुक पोष्ट गर्नुभएको रहेछ । पोष्ट खोलेर हेर्दा महिनावारी हुँदा गोठमा बस्दै आएकी १६ वर्षीया किशोरीको सर्पको टोकाईबाट मुत्यु भन्ने समाचार रहेछ । त्यो समाचार पढेपछि दुःख् लाग्यो । नेपालमा अझै पनि यस्तो चलन रहेछ । महिनावारी हुँदा छुट्टै बस्नुपर्ने, कसैलाई छुन नहुने जस्ता चलनले किशोरीहरु मुत्युको सिकार हुनुपरेको छ । उक्त घटना पढेपछि आफ्नो महिनावारी भएको दिन सम्झन थाले । आफु भएको बेला त यस्तो गोठमा नै बस्नुपर्ने चलन पछ्याउनु परेन । कस्तो खालको चलन हो यो गोठमा बस्नुपर्ने । मेरो मनमा अनेकौं प्रश्नहरु उब्जन थाले । अनि आफू पहिलो पटक महिनावारी हुँदाको क्षण सम्झे ।

हुन त घरको सबै काम ममिले गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ । खाना पकाउने, पुजा गर्ने, सरसफाई गर्ने देखि सबै काम ममिले नै हो गर्ने । तर महिनाको सात दिन केहि पनि काम गर्नुहुदैन थियो । न पुजा कोठामा जानु हुन्थ्यो, न भान्सामा पस्नु हुन्थ्यो, न त तरकारी बारीमै पस्नुहुन्थ्यो । अनि ममिलाई महिनाको सात दिन चाहि के हुन्छ भन्ने लाग्थो? एकदिन मैले ममिलाई सोधे हजुरले महिनाको सात दिन किन केहि काम गर्नुहुर्दैन? ममिले आफू मिन्स भएको सुनाउनुभयो । मिन्स? यो के हो? मेरो कुरा सुनेर ममि मुस्कुराउनु हुन्थ्यो । तर मैले ममिलाई बारम्बार यो प्रश्न सोधिरहन्थे । एक दिन ममिले भन्नुभयो मिन्स सबै केटिहरु हुन्छ । कोहि छिटो हुन्छ भने कोहि ढिलो, पालो सबैको आउँछ । तिम्रो पनि बेला आउँदै छ आफु भएपछि थाहा पाउँछौ भन्नुभयो ।

होईन् महिनावारी भनेको के होला ? यो कति बेला हुने होला? महिनावारी हुदा कस्तो हुन्छ ? महिनावारी अचानक भयो भने के गर्ने मैले ? सुरुमा कसलाई भन्ने ? यी प्रश्नहरु मेरो मनमा आउथ्यो । म १५ वर्षको हुदाँ पहिलो पटक महिनावारी भए । एकदिन साथिहरु संग खेल्दै थिए । एक्कासी तल्लो पेट दुखेको जस्तो हुन थाल्यो र आफुलाई पनि कस्तो असहज भएको महसुस भयो । आफुले लगाएको लुगामा पनि के लागेको लागेको जस्तो हुन थाल्यो । तल्लो पेट पनि दुखेर झर्ला जस्तो भएपछि साथिलाई हेर न के भएको पेट दुखेर मर्न आटिसकी, कपडामा पनि के लागेको जस्तो भईरहेको छ के भएको होला भन्दा साथीेले मिन्स भयो होला गएर हेर एकचोटि भने । कतै मिन्स नै भएको हो कि भनेर हेर्दा नभन्दै मिन्स भएको रहेछ । थाहा पाउँने बित्तिकै ममिलाई भने यो सुन्ने बितिकै ममि आत्तिनुभयो । कतै केहि छोएको त छैन नि? दादा बुबालाई त हेरेको छैन नि भन्दै मलाई छिमेकी अन्टीको घरमा लैजानुभयो । मैले के गरेको होला किन अर्काको घरमा बसाउनुभएको भनेर ममीलाई सोधे । ममिले भन्नुभयो पहिलो पटक महिनावारी हुँदा आफ्नो घरमा बस्नु हुदैन । घाम हेर्नुहुदैन् । दादा, बुबालाई हेर्नुहुदैन । एउटा बन्द कोठामा २८ दिनसम्म घाम नहेरी बस्नुपर्छ भन्नुभयो ।

नेपाली समाजमा ‘पहिलो पटक महिनावारी हुँदा आफ्नो घर बस्नुहुर्दैन् । घरको धुरी हेर्नु हुर्दैन् । घाम हेर्नु हुर्दैन् । पुरुषलाई पनि हेर्नु हुर्दैन् । एउटा बन्द कोठामा नियम अनुसार बस्नुपर्छ’ भन्ने धार्मिक विश्वास छ । तर पहिला भन्दा अहिले धेरै नै परिवर्तन भईसकेको छ ।

अब पहिला पहिलाको समय जस्तो भएको भए त यो २८ दिन नर्कमा गएको जस्तो हुन्थ्यो होला तर हाम्रो समयमा त्यस्तो थिएन । कतिले यो नियम लागु गर्थे भने कतिले गर्दैन् थिए । दिन काट्न पनि त्यस्तो गाह्रो भएन् । टिभि भने टिभि, मोबाईल भने हातमा मोबाईल । त्यो मात्र नभएर साथीहरुको बास नै म बसेको अन्टीको घरमा हुन्थ्यो । अब महिनावारी भएर होला भोक चै छिनछिनमा लागिरन्थ्यो कहिले के खाउ कहिले के खाउ हुन्थ्यो । अन्टीले पनि भोक लाग्यो भन्ने बित्तिकै खानेकुरा पकाएर दिनुहुन्थ्यो । त्यती मात्र नभएर साथीहरुले पनि कहिले के कहिले के बनाएर ल्याईदिन्थे । एकदिन बुवा अन्टीको घर आउनुभएको बेला बुवालाई हेनुहुदैन् भनेका थिए । तर चुलबुले मन त पर्यो जुन काम गर्नुहुदैन भन्यो त्यो चाहि गर्नैपर्ने । भित्र बसेको मैले आवाज सुनिरहेकी हुन्थे । आवाज सुनेपछि झनै हेर्नेपर्ने मलाई अनि भित्रको पर्दा हटाएर थाहा नपाउने तरिकाले हेर्ने गर्थे । त्यही बेला स्कुलमा नृत्य सिकिरहेको थिए देउसी भैलोको लागि । त्यसमा म पनि नाच्ने भनेको थिए तर बिचमा महिनावारी भएकोले गर्दा नृत्य सिक्नका लागि जान पाएको थिईन् । स्कुल त नगएको म झन नृत्य सिक्न त कसरी जानु ।

तीन चार दिन भएपछि कस्तो नृत्य सिक्न जान मन लाग्न थाल्यो । घरको धुरी हेर्नु हुदैन भन्नुभएको थियो । घरको धुरी नहेरीकन घर बाहेक अर्को बाटोबाट भए पनि नृत्य सिक्न जान्थे । त्यसरी नै दिनहरु बित्ने गथ्र्यो । विस्तारै विस्तारै महिनावारी भएको पनि ११ दिन पुगेको रहेछ । खासमा नियम पालना गर्ने हो भने २८ दिन गनुपर्छ । तर म ११ दिनमै घरमा गए । मेरो परिवारले पनि केहि भन्नुभएन । २८ दिन नै नियम पालना गर्नुपर्छ भन्ने खालको दवाव मेरो घरबाट मैले खेप्नु परेन ।

एउटा नियम थियो पहिलो पटक महिनावारी हुदा त्यसरी राख्नुपर्ने तर २८ दिन नै पालना गनुपर्छ भन्ने छैन भनेर घरको मान्छेले भन्नुभएको थियो । महिनावारीबाट चोखिदा नयाँ लुगा लगाएर मात्र चोखिनुपर्ने थियो । मेरो लागि पनि नयाँ लुगा ल्याईदिनुभएको रहेछ । मैले पनि आफुलाई ल्याईदिनुभएकोे नयाँ लुगा लगाएर घर गएको थिए । घरमा जादा त बुवा र दादा घरको ढोका छेकेर बसिरहनु भएको थियो । मैले के गरेको यस्तो भन्दा ममिले भन्नुभयो सूरुमा चोखिदा यसरी नै घरको ढोका दादा र बुवाले छेकेर टिका लगाईदिएपछि बल्ल चोखिन्छ । त्यसरी छेकेर टिका लगाएपछि सुनपानी घरमा छर्किन थाल्नुभयो । के गरेको यो भनेर मैले जिज्ञासा राखे । ममीले भन्नुभयो घरलाई चोख्याएको नि अरु के गर्नु नि ।

यसरी मेरो पहिलो पटकको महिनावारी सकिएको थियो । दोस्रो पटक हुँदा सात दिन भान्सा र पूजा कोठामा नपस्ने, बारीमा लगाएको तरकारी नछुने गरेको थिए । कुनै बेला एउटै महिनामा एकैपटक ममी र म महिनावारी हुने । एकैपटक महिनावारी हुँदा काम गर्न समस्या हुन्थ्यो । घरमा कोहि नभएको बेला आफूलाई चाहिएको सामानहरु प्रयोग गर्न नपाउने, भोक लागेको बेला खानेकुरा पकाएर खान नपाउने, दैनिक काम गर्न पनि असहज हुन्थ्यो । धेरैजसो ममी र म संगै महिनावारी हुन थाल्यौ । धेरैपटक एउटै समयमा महिनावारी हुन थालेपछि असहज परिस्थितीलाई सहज बनाउन महिनावारी हुँदा छुनुहुदैन् भन्ने चलन पछ्याउन कम गर्यौ ।

साथीहरुमध्ये सबैभन्दा अगाडि म महिनावारी भएको थिए । सरसफाईमा ध्यान दिनुपर्छ भन्ने कुराको जानकारी मलाई थिएन् । जब आफु महिनावारी भए त्यसपछि यी कुराहरु थाहा भयो । मलाई के लाग्छ भने किशोरीहरुलाई महिनावारी हुनुभन्दा पहिला नै महिनावारीको विषयमा जानकारी हुनुपर्छ । परिवारले पनि अगाडि नै महिनावारीे हुँदा ध्यान दिनुपर्ने कुराहरु सिकाउनुपर्छ । यदि महिनावारी भएको छ भने ममी अथवा दिदीबहिनीलाई नै भन्नुपर्ने खालको वातावरण घरमा हुनुहुदैन् । घरको परिवारले यो सिकाउनुपर्छ । महिनावारी हरेक महिलाहरु हुने गर्छन आफु भएको बेला आत्तिनु हुदैन् र घरमा भएको दादा, बुवा, भाई, साथीहरु जसलाई पनि खुलेर कुरा गर्नुपर्छ । यो कुनै लुकाउनुपर्ने बिषय होईन् बरु महिनावारी हुदा बढी ध्यान के कुरामा दिने भनेर सिक्ने सिकाउने गर्नुपर्छ । कतिपय किशोरीहरु पहिला सुरु महिनावारी हुँदा कसलाई भन्ने घरमा दादा, बुवा, भाई, साथीहरुलाई भन्न डराउँछन् । घरमा भएको दादा, बुवा, भाई साथीहरुले थाहा पाए भने के सोच्छन् भन्ने उनीहरुको मानसिकता हुन्छ । नेपाली समाजमा ‘पहिलो पटक महिनावारी हुँदा आफ्नो घर बस्नुहुर्दैन् । घरको धुरी हेर्नु हुर्दैन् । घाम हेर्नु हुर्दैन् । पुरुषलाई पनि हेर्नु हुर्दैन् । एउटा बन्द कोठामा नियम अनुसार बस्नुपर्छ’ भन्ने धार्मिक विश्वास छ । तर पहिला भन्दा अहिले धेरै नै परिवर्तन भईसकेको छ ।

महिनावारी हुँदा महिलाहरुको तल्लो पेट तथा ढाड दुख्ने समस्या हुन्छ । यस्तै महिनावारीको समयमा अल्छिपना आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने समस्याहरु आउँछ । महिनावारी हुँदा अरुको घरमा राखिदिने हुँदा यस्ता समस्या भोग्ने कतिपयले जानकारी गराउदैनन् । उनीहरुलाई चाहिएको आवश्यक साम्रगी पनि माग्न सकेका हुदैनन् । महिनावारी हुुँदा सरसफाईमा विषेश ध्यान पुर्याउनुपर्ने हुन्छ । कतिपय किशोरीहरुलाई महिनावारी हुँदा के प्रयोग गर्ने कपडा अथवा प्याड भनेर जानकारी हुदैन् । प्रायः जसो महिलाहरुले कपडा नै प्रयोग गर्छन् । सकेसम्म प्याडको प्रयोग गनुपर्छ । कतिपय महिलाहरुलाई प्याडको जानकारी हुदैन । प्याड नभएको अवस्थामा नरम सुतिको कपडाको प्रयोग गर्नुपर्छ । महिनावारी हुँदा प्रयोग गरेको कपडा वा प्याड फेरिरहनुपर्ने हुन्छ । कतिपयमा महिनावारी हुँदा प्रयोग गरेको कपडा धोएपछि घाममा सुकाउनु हुर्दैन् भन्ने अन्धविश्वास रहेको पाइन्छ । प्रयोग गरेको कपडा धुएपछि घाममा नसुकाउँदा त्यसमा भएको किटाणुहरु नष्ट हुदैन भन्ने जानकारी नहुन सक्छ । त्यसले गर्दा महिलाहरु रोगको सिकार हुन्छन् । महिनावारी हँुदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा महिलाहरुलाई विभिन्न रोगले संक्रमण हुने गर्छ । एकपटक महिनावारी भएको बेला प्रयोग गरेको कपडा फेरी दोस्रोपटक महिनावारी हुँदा त्यहि कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा संक्रमण हुने सम्भावना बढि हुन्छ । महिनावारीको वेला कतिपयमा रगत कम बग्ने हुँदा लामो समयसम्म एउटै प्याड प्रयोग गरिरहेका हुन्छन । यसले गर्दा संक्रमणको डर अझै बढि हुन्छ । त्यसैले, प्याड प्रत्येक चार घन्टामा फेरिरहनुपर्छ । आफ्नो शरिरलाई सफा राख्नुपर्छ ।

महिनावारी हुँदा सामान्य व्यायाम गर्नुपर्छ । धरै काम गर्नुहुदैन । खानामा विशेष ध्यान दिनुपर्छ । बढी मात्रामा पानी पिउने र निन्द्रा पुग्ने गरि सुत्नुपर्छ । सरसफाईमा विशेष ध्यान दिनुपर्छ । पेट नदुख्ने औषधीको प्रयोग गर्नु हुदैन । महिनावारी निरन्तर भएको छ कि छैन् भन्ने ख्याल राख्नुपर्छ । यी कुराहरुको जानकारी घरको परिवारमा पनि हुनुपर्छ । साथै महिलाहरुमा पनि यी कुराहरुको ज्ञान हुनुपर्छ । आफु महिनावारी हुँदा आफ्नो सुरक्षा आफै गर्नेतर्फ सचेत हुनुपर्छ । सम्बन्धित सरोकारवाला निकायले पनि यस विषयमा सचेतना अभियान संचालन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्