कांग्रेस बाराको निर्णय: १० जनाको कारवाही फुकुवा, भदौ अन्तिममा जिल्ला सम्मेलन


eShilalekh

२ भाद्र २०८०, शनिबार २१:०७

सिमराः नेपाली कांग्रेस बाराले गत मंसिर ४ गतेको चुनावको समयमा पार्टीबाट निलम्बित १० जनाको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । कलैयास्थित बिपी स्मृती भवनमा शनिवार बसेको जिल्ला समितिको बैठकले जिल्ला उपसभापति अमिरीलाल पालसहित १० जनाको कारवाही फुकुवाका लागि केन्द्रीय अनुशासन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार हराउन लागेको भन्दै कांग्रेस केन्द्रीय अनुशासन आयोगले उपसभापति पालसहितका व्यक्तिलाई कारवाही गरेको थियो । उक्त कारवाहीमा परेका नेताहरु बैशाख १० गते बारा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागेकाले निलम्बन फुकुवाका लागि सिफारिस गर्ने निर्णय भएको कांग्रेस नेता लोकेश सिंहले बताएका छन् ।

कांग्रेस बाराले उपसभापति पालसहित जिल्ला कार्यसमिति सदस्य हरि थपलिया, रवीन्द्र यादव, वीरेन्द्र यादव, रामएकवाल यादव, महाधिवेशन प्रतिनिधि नरेश यादवसहित उत्तिमलाल बरै, कृष्णादेवी चौरसिया र रामनिवास साहको कारवाही फुकुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । रवीन्द्र मंसिर ४ गतेको निर्वाचनमा बारा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा र वीरेन्द्र बारा २(१) बाट प्रदेशसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए । कांग्रेस उपसभापति पाल र जिल्ला सदस्य थपलियालाई भने बारा ४ मा गठबन्धनका उम्मेदवार किसान श्रेष्ठलाई असहयोग गरेको भन्दै कारवाही गरिएको थियो ।

जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सम्पन्न बैठकले भदौ १५ गतेभित्र वडा तथा पालिका सम्मेलन, भदौ २० गतेभित्र क्षेत्रीय सम्मेलन र भदौ अन्तिममा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । वडा र पालिका सम्मेलन सम्पन्न गर्न जिल्ला समितिबाट १६ वटै पालिकामा प्रतिनिधि खटाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्