ग्रासरुट फूटवल: नेरामावि बकुलिया र न्यु एकता विजयी


eShilalekh

२० मंसिर २०७८, सोमबार २०:११

सिमरा: सिमरामा जारी अन्तर विद्यालय ग्रासरुट फूटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र न्यु एकता बोर्डिङ स्कुल, सिमरा बिजयी भएको छ ।

सिमरा रंगशालामा भएको पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरलाई २-० गोलले पराजित गरेको हो । बकुलियाको जीतमा अतुल्लाह मिया र रंजित विश्व थारुले गोल गरे । खेलको म्यान अफ दि म्याच अजित चौधरी घोषित भए ।

खेलमा पराजित भएको फत्तेपुरले बकुलयाविरुद्ध प्रोटेस्ट गरेको छ । विद्यालयस्तर भन्दा माथीका खेलाडी खेलाएको भन्दै फत्तेपुरले आयोजकसमक्ष प्रोटेस्ट गरेको हो । फत्तेपुरले दिएको प्रोटेस्टका बारेमा आयोजकले पछि सुनाउने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।

यसैगरी दोस्रो खेलमा न्यु एकताले शुभतारा बोर्डिङ स्कुललाई २-० ले पराजित गरेको छ । न्यु एकताको जितमा सुजन खत्री एक्लैले दुई गोल गरे । खेलको म्यान अफ दि म्याच भने कौशुक श्रेष्ठ घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल हुदैछन् । आयोजकका अनुसार पहिलो खेल मिसन एकेडेमीविरुद्ध एक्स सर्भिसम्यान र दोस्रो खेलमा जनता माध्यमिक विद्यालय रजघट्टा र लोटस एकेडेमीबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्