निजामती सेवा दिवसका दिन हातमा कालो पट्टी बाधेर काम गर्दै जीतपुरसिमराका कर्मचारी


eShilalekh

२२ भाद्र २०८०, शुक्रबार ११:१२

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले २०औं निजामती सेवा दिवसका दिन शुक्रवार हातमा कालो पट्टी बाधेर काम गरेका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले विरोधस्वरुप कालो पट्टी बाधेर काम गरेका हुन् ।

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै बिहिवार विज्ञप्ति जारी गरेर दिवस नमनाउने निर्णय गरेका थिए । स्थानीय तहका कर्मचारीलाई विभेद गर्दै प्रस्ताव गरिएको निजामती सेवा विधेयक संशोधन नभएसम्म कुनै पनि दिवस नमनाउने कर्मचारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जीतपुरसिमराका कर्मचारीले संघीय निजामती सेवा विधेयक नभई एकिकृत निजामती सेवा ऐन ल्याउनपर्ने बताएका छन् । उनिहरुले सरकारलाई विधेयक संशोधन गर्न १४ बुँदै सुझाव समेत दिएका छन् ।

सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । तर देशभरका स्थानीय तहका कर्मचारीले भने यसको विरोध गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्