जीतपुरसिमराका कर्मचारीले निजामती सेवा दिवस नमनाउने, कालो पट्टी बाधेर काम गर्ने


eShilalekh

२२ भाद्र २०८०, शुक्रबार ०९:५९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीले शुक्रवार २०औं निजामती सेवा दिवस नमनाउने भएका छन् । निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उपमहानगरपालिकाका कर्मचारीले सामूहिकरुपमा विज्ञप्ति जारी गरेर दिवस नमाउने घोषणा गरेका हुन् ।

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवासुविधा तथा वृद्धि विकासको सुनिश्चितता नगरेको उल्लेख गर्दै उपमहानगरपालिकाका कर्मचारीले दिवसका दिन कालो पट्टी बाधेर काम गर्ने जनाएका छन् । स्थानीय तहका कर्मचारीलाई विभेद गर्दै प्रस्ताव गरिएको निजामती सेवा विधेयक संशोधन नभएसम्म कुनै पनि दिवस नमनाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जीतपुरसिमराका कर्मचारीले संघीय निजामती सेवा विधेयक नभई एकिकृत निजामती सेवा ऐन ल्याउनपर्ने बताएका छन् । उनिहरुले सरकारलाई विधेयक संशोधन गर्न १४ बुँदै सुझाव समेत दिएका छन् ।

सरकारले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ लाई संघीय संसदमा पेश गर्ने निर्णय गरिसकेको छ । तर देशभरका स्थानीय तहका कर्मचारीले भने यसको विरोध गरिरहेका छन् ।

यस वर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ २० औं निजामती सेवा दिवस, २०८० मनाइँदै छ । तर स्थानीय तहका कर्मचारी भने दिवसका दिन उत्साहित देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्