घण्टीमाई सहकारीद्वारा बक्तृत्वकला प्रतियोगिताको आयोजना


eShilalekh

२५ भाद्र २०८०, सोमबार ११:१६

सिमरा: हरितालिका तीज पर्वको अवसरमा घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

जीतपुरसिमरा ४ औराहस्थित सहकारीले ‘वर्तमान परिवेशमा सहकारीको महत्व’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ६ विद्यालयका १२ विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागीमध्ये नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय सिमराका छात्र मनिष पाठक प्रथम र छात्रा आयुशा लामिछाने द्वितीय भएका छन् ।

यसैगरी जनता माध्यमिक विद्यालय रजघट्टाका छात्र अरविन्द्र चौधरी तृतीय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगञ्जकी छात्राले प्रोत्साहन पुरस्कार पाएकी छिन् । विजेता विद्यार्थीलाई जीतपुरसिमरा ४ का वडाध्यक्ष, जीतपुरसिमरा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वतीदेवी चौधरी, संस्थाकी अध्यक्ष कोपिला सिंखडाले पुरस्कार वितरण गरेका थिए ।

सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाको कार्यालयका सहकारी विभाग प्रमुख सुधन चौधरी, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख सुरेश लागे, एमालेका युवा नेता त्रिलोक बिक्रम शाह, संस्थाका प्रवन्धक नविन खड्कासहित संस्थाका पदाधिकारी, शेयरसदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सोही अवसरमा संस्थाका महिला शेयर सदस्यका लागि दर खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको संस्थाकी सूचना अधिकारी अस्मिता शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्