पथलैया खानेपानीको नेतृत्व चयन गर्न शनिबार मतदान हुँदै


eShilalekh

५ आश्विन २०८०, शुक्रबार २०:३८

सिमराः पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नेतृत्व चयनका लागि शनिवार मतदान हुँदैछ । संस्थाको २५औं चुनावी साधारण सभाले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि शनिवार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तय गरिएको छ । पथलैयास्थित खानेपानी समितिको कार्यालयमा हुने निर्वाचनमा करिब ६ सय ४० उपभोक्ता मतदाताको रुपमा सहभागी हुनेछन् ।

निर्वाचनबाट ११ सदस्यीय कार्यसमिति चयन हुनेछ । संस्थाको अध्यक्ष पदका लागि यतिबेला तीन जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् । यसअघिका अध्यक्ष सुरेशकुमार लामासहित खिलबहादुर कार्की (शरण) र राजकुमार डिमडुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लामा र कार्कीले प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने डिमडुङको एकल उम्मेदवारी परेको छ । उपाध्यक्ष पदमा तोयानाथ खनाल र टिकादास मुल्मी, सचिव पदमा किरण आले मगर र गौतमप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा अर्जुन लम्साल र लाक्पा ग्याबु शेर्पाले उम्मेदवारी दिएका छन् ।

यसैगरी सहसचिव पदमा समेत तीन जनाको उम्मेदवारी छ । कार्कीको प्यानलबाट दीपक बास्कोटा र लामाको प्यानलबाट खड्गराज तामाङले उम्मेदवारी दिँदा सन्तोष कार्कीले एकल उम्मेदवारी दिएका छन् । सहसचिव पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

कार्यसमितिको सदस्य पदमा कार्कीको प्यानलबाट विष्णुकुमार आचार्य, पार्वती लम्साल, शिला सुब्बा, सञ्जु कार्की गेलाल, शिवबहादुर आचार्य र रितु थामीको उम्मेदवारी परेको छ । यसैगरी लामाको प्यानलबाट दीपेन्द्रकुमार श्रेष्ठ, एकमाया जिम्बा, दीप राई, लक्ष्मी भट्ट, प्रेमबहादुर लामा र पार्वती श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

निर्वाचनका लागि शंकरकुमार आचार्यको नेतृत्वमा रहेको तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्