तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कपः आयोजक सिमरा फाइनलमा प्रवेश, आज दुई खेल हुँदै


eShilalekh

११ आश्विन २०८०, बिहीबार १३:५०

सिमराः आयोजक सिमरा भेट्रान क्लब सिमरामा जारी तेस्रो भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार साँझ भएको खेलमा चाबहिल भेट्रान क्लब काठमाडौंलाई पराजित गर्दै आयोजकले अन्तिम दुईको यात्रा तय गरेको हो ।

चाबहिललाई सेमिफाइनलमा रोक्ने क्रममा आयोजकले ३-२ को रोमाञ्चक जीत हात पार्यो । आयोजकको जितमा गोपीचन्द भट्टले दुई र मित्रबहादुर बस्नेतले एक गोल गरे । खेलमा ३-० ले अग्रता लिएको आयोजकविरुद्ध अन्तिम समयमा लगातार दुई गोल फर्काउदै गोलअन्तर घटाएपछि चाबहिलले हार टार्न सकेन ।

दुई गोल गरेका भट्ट खेलको म्यान अफ दि म्याच घोषित भए । भट्टलाई जीतपुरसिमरा उपमहानगरपालिका १६ का वडाध्यक्ष हरिदेव खरेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विहिबार दुई खेल हुँदैछ । साँझ ५ बजे सुरु हुने पहिलो खेलमा पोखरा भेट्रान कास्की र फ्रिडम फाईटर काठमाडौं भिड्नेछन् भने दोस्रो खेल युनिटी भेट्रान वीरगन्ज र कोलकत्ता भेट्रान भारतबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्