वीरगंजमाथी काठमाडौंको गोलवर्षा, उपाधीका लागि आयोजकसंग भिड्ने


eShilalekh

१२ आश्विन २०८०, शुक्रबार २०:५९

सिमराः त्रिभुवन आर्मी क्लबका पूर्व खेलाडी विकर्ण श्रेष्ठ नायक बन्दा काठमाडौंको फ्रिडम फाईटर क्लब सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा युनिटी भेट्रान क्लब वीरगन्जमाथी ७-२ को फराकिलो जित हात पार्दै काठमाडौं अन्तिम दुईमा प्रवेश गरेको हो ।

काठमाडौंको जीतमा आर्मीका पूर्व खेलाडी समेत रहेका श्रेष्ठ एक्लैले पाँच गोल गरे । खेलको पहिलो हाफमा एक गोल गरेका श्रेष्ठले चार गोल दोस्रो हाफमा थपेका थिए । काठमाडौंका लागि अन्य दुई गोल सरोज थापा र कलम बिष्टले गरेका हुन् ।

यता वीरगन्जका लागि सन्तोष राई र सुरज श्रेष्ठले समान एक/एक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच श्रेष्ठ घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ र वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ताले म्यान अफ दि म्याचको पुरस्कार वितरण गरेका थिए ।

काठमाडौंले अब उपाधीका लागि आयोजक सिमरा भेट्रानसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेलमा चाबहिल स्पोर्ट्स क्लबलाई ३-२ ले पराजित गर्दै आयोजक अन्तिम दुईमा प्रवेश गरिसकेको छ । दुई टिमबीचको फाइनल भिडन्त शनिवार दिँउसो चार बजेपछि सुरु हुनेछ ।

स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजित प्रतियोगिताको उपाधी विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालीको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्