माओवादी, जनमत हुँदै एमाले प्रवेश गरे ‘जमिन’


eShilalekh

१८ आश्विन २०८०, बिहीबार १५:३७

सिमराः गत बैशाखमा नेकपा माओवादी केन्द्र परित्याग गरी जनमत पार्टी प्रवेश गरेका पूर्वसांसद शिवचन्द्र कुशवाहा विहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच कुशवाहा एमाले प्रवेश गरेका हुन् ।

जमिन नामले समेत परिचित कुशवाहालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । कुशवाहासंगै माओवादी केन्द्र परित्याग गरी ५० जना भन्दा नेताकार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

बैशाख १० गते बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदा कुशवाहा माओवादी केन्द्र परित्याग गर्दै जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा कुशवाहा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग पाँच हजार ८१ मतको मतान्तरले पराजित भएका थिए ।

माओवादी त्यागेर जनमत रोजेका कुशवाहा अध्यक्ष राउतले राजनीतिक चरित्र नदेखाएको बताउदै आएका थिए । राउतविरुद्ध अभिव्यक्ति दिदै आएका कुशवाहालाई जनमत पार्टीले साउन ३ गते साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।

उपनिर्वाचनपछि राउतसंग असन्तुष्ट रहदै आएका कुशवाहा दल परिवर्तन नगर्ने प्रतिवद्धतासहित एमाले प्रवेश गरेका हुन् । जनयुद्ध अगाडी आफू एमालेमै रहेको बताउदै कुशवाहाले ३० वर्षपछि आफ्नै घर फर्किएको समेत बताएका छन् । उनले माओवादीभित्र रहेका एमालेका पूर्वकार्यकर्तालाई एमाले फर्काउने अभियानमा आफू सक्रिय भएर लाग्ने समेत बताए ।

यसअघि मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कुशवाहा हालका उपराष्ट्रपति रामसहाय यादवसंग तीन सय ५४ मतको मतान्तरले पराजित भएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका यादव उपराष्ट्रपति बनेसंगै बारा २ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा गठबन्धनबाट जसपा अध्यक्ष यादवले टिकट पाउने निश्चित भएपछि कुशवाहा जनमत प्रवेश गरेर निर्वाचन लडेका थिए ।

कुशवाहा २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसयता लडेको निर्वाचनमा उनि पराजित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्