जीतपुरसिमरा १६ मा वडाध्यक्ष कप फूटबल प्रतियोगिता सुरु, आयोजकको बिजयी सुरुवात


eShilalekh

२२ आश्विन २०८०, सोमबार २१:०१

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ मा प्रथम वडाध्यक्ष कप फूटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । डकाहास्थित खेल मैदानमा एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरिएको हो ।

डकाहास्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक मित्र युवा क्लबले कलैया फूटबल क्लबलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ । आयोजकले कलैयालाई ८-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

आयोजकको जीतमा कृपा चौधरीले एक्लैले ६ गोल गरे । कृपाको उत्कृष्ट खेलको मद्यतबाट फराकिलो जित हात पारेको आयोजकका लागि अभिष्कार चौधरी र अन्जन बछारले एक/एक गोल गरेका थिए ।

उद्घाटन खेलको म्यान अफ दि म्याच कृपा चौधरी घोषित भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार फ्रेण्ड्स क्लब बकुलिया र मौवादेवी युवा क्लब बडहर्वाबीच प्रतिस्पर्धा हुनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को सहयोगमा आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा बारा र पर्साका १२ टिमको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन प्रतियोगिताको बारा क्षेत्र नं. ३ की सांसद ज्वालाकुमारी साहले गरेकी थिईन् । उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले जिल्ला उपसचिव अमृत शर्मा बजगाईं, वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नं. १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, डुमरवाना बहुमुखी क्याम्पसका अध्यक्ष अनिल मैनाली, कार्यपालिका सदस्य पवित्रामाया कार्की, वडा नं. १६ का पूर्ववडाध्यक्ष केदारनाथ बजगाईं, वडा सदस्य हेमबहादुर बुर्जा मगर, वडासचिव पुष्प घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्