काठमाडौंको आन्दोलनसंग शक्तिशाली सरकार डराउनु लज्जास्पदः रवि लामिछाने


eShilalekh

८ मंसिर २०८०, शुक्रबार १९:३८

सिमराः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंमा भईरहेको आन्दोलनसंग शक्तिशाली सरकार डराउनु लज्जास्पद रहेको बताए । बाराको निजगढमा शुक्रबार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार आन्दोलनसंग डराउदै धरपकडमा उत्रिएको घटना लज्जास्पद रहेको बताए ।

स्वतन्त्ररुपमा हिडेका नागरिकलाई समाउदै थुनेको घटना लोकतन्त्रको विशेषताविरुद्ध रहेको बताउँदै लामिछानेले लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको बताए । लोकतन्त्रले व्यवस्था गरेको अधिकारमाथि बन्देज लगाउन नपाईने लामिछानेको भनाई थियो ।

‘म प्रदर्शनको पक्ष र विपक्षमा छैन । तर स्वतन्त्र हिडेका मानिसलाई समाउदै थुन्दै गरेको देखियो । लोकतन्त्रमा यो ल्याउछु त्यो ल्याउछु भन्न पाइन्छ । बन्देज लगाउने कार्य लज्जास्पद छ’ लामिछानेले भने ‘सरकार किन डराएको होला? यति धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार डराएको देखेर म लज्जित छु । ’

आफ्नो हातबाट शासनसत्ता फुस्किने र आफ्नो कर्तुत जनताले थाहा पाउने भएका कारण सरकार डराएको लामिछानेको तर्क थियो । आफू दुर्गा प्रसाईको समर्थक वा प्रशंसक नभएको बताउदै लामिछानेले सहकारी, लघुवित्त र बैंकको चर्को ब्याजबाट पीडित जनताको ज्यानमा तलमाथि नहोस् भन्ने पक्षमा रहेको बताए । लामिछानेले व्यवस्था फ्याल्ने भन्दा पहिला भष्टाचार र भष्टाचारीलाई फाल्यो भने आधा समस्या समाधान हुने बताए ।

वर्तमान सरकार लोकतन्त्र जोगाउनेतर्फ नभई जेल भित्र रहेका र जेल जान लागेका आफ्ना मान्छे, कार्यकर्ता जोगाउन केन्द्रीत रहेको आरोप लगाए । लामिछानेले देश नेता उत्पादन गर्ने कारखाना मात्रै बनेको बताए । ‘देशमा रहेका कलकारखाना बन्द छन् । चलिरहेका कारखाना समेत बन्द हुने अवस्थामा पुगेको छ’ लामिछानेले भने ‘भएभरका कारखाना बन्द भएको यो देश अहिले नेता उत्पादन गर्ने कारखाना मात्रै बनेको छ ।’

पछिल्लो निर्वाचनमा रास्वपाले जनताको मत प्राप्त गरेपनि उक्त मत पर्याप्त नहुँदा परिवर्तनको पक्षमा काम गर्न असहज भईरहेको बताए । मतपेटिकाबाट मुलुकको भविष्य निर्माण गर्न सकिने भन्दै उनले जनतालाई दुःख नदिएर परिवर्तनको स्वाद चखाउनेमा रास्वपा लागिपर्ने समेत बताए ।

जनसभामा रास्वपा उपसभापति एवम् पूर्वमन्त्री डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य मनिष झा, पूर्व बैंकर एवम् रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिल केशरी, केन्द्रीय सदस्य दीपक बोहोरा, मधेस प्रदेश सभापति तपेश्वर यादव, जिल्ला संयोजक चन्दनकुमार स्वर्णकारण, बारा क्षेत्र नं. १ का उपसभापति नेत्रबहादुर कार्की, निजगढ नगर सभापति रामहरी खरेललगायतको उपस्थिती रहेको थियो ।

केन्द्रीय सभापति लामिछानेले यसअघि बाराको सिम्रौनगढ र वीरगन्जमा आयोजित सभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्