केपी ओली कपः मधेस प्रदेश आठ विकेटले बिजयी, यस्तो छ सेमिफाइनलको सम्भावना


eShilalekh

११ मंसिर २०८०, सोमबार १७:५६

सिमराः केपी ओली टी–२० क्रिकेट कप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई आठ विकेटले पराजित गरेको छ । पोखरा क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मधेस प्रदेशले सुदूरपश्चिममाथि फराकिलो जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको सुदूरपश्चिमले १५.५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै ५८ रन बनाएको थियो । सुदूरपश्चिमलाई सस्तोमा समेट्ने क्रममा मधेस प्रदेशका कप्तान हरिशंकर साहले चार विकेट लिए । चार ओभर बलिङ गर्दै साहले ११ रन खर्चिएर चार विकेट लिएका थिए ।

यसैगरी रुपेश सिंहले २.५ ओभर बलिङ गर्दै एक मेडनसहित सात रन खर्चिएर तीन विकेट लिए । मधेसका लागि बिशाल पटेल, प्रदीप पासवान र बिशाल सुस्लिङले समान एक/एक विकेट हात पारे ।

सामान्य योगफल बनाउने क्रममा सुदूरपश्चिमका नरेन्द्र साउदले सर्वाधिक १८ रन बनाए । यसैगरी किरन थगुन्ना र भोजराज भट्टले १०/१० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दोस्रो ईनिङमा ५९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मधेसले बिष्फोटक ब्याटिङ गर्दै ४.४ ओभरमा जित हात पार्यो । मधेसको जितमा बाराका अनिलकुमार साहले सर्वाधिक २५ रन बनाए । खेलमा ११ बलको सामना गरेका साहले दुई छक्का र तीन चौकाको मद्यतले २५ रन जोडेका हुन् । यसैगरी बाराकै खेलाडी पवन सर्राफले पाँच बलमा १४ रन जोडे । उनले एक छक्का र दुई चौका प्रहार गरे ।

सहज जित हात पार्ने क्रममा मधेसका लागि इमरान शेखले १७ रन बनाए । नौ बलको सामना गरेका शेखले एक छक्का र दुई चौका प्रहार गरेका थिए । खेलको प्लेयर अफ दि म्याच मधेसका कप्तान साह घोषित भए ।

पहिलो खेलमा नेपाल पुलिस क्लबसंग ५७ रनले पराजित भएको मधेसले सुदूरपश्चिमसंगको जितसंगै दुई अंक जोडेको छ । एक खेल खेलेको पुलिस समान अंकसहित तालिकाको शिर्ष स्थानमा छ भने मधेस दोस्रो स्थानमा छ । मधेसले अब सेमिफाइनल प्रवेशका लागि पुलिस र सुदूरपश्चिमबीचको खेलको नजिता पर्खनुपर्नेछ ।

सुदूरपश्चिमले पुलिसविरुद्ध फराकिलो जित हात पारे रनरेटका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । पुलिसले सुदूरपश्चिमलाई पराजित गरेमा मधेस प्रदेशको यात्रा टुंगिनेछ ।

प्रतिक्रिया दिनुहोस्