केपी ओली कपः मधेस प्रदेश फाइनलमा, उपाधिका लागि आर्मीसंग खेल्ने


eShilalekh

१४ मंसिर २०८०, बिहीबार १८:१५

सिमराः मधेस प्रदेश क्रिकेट टिम पोखरामा जारी केपी ओली टी–२० कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा विहिबार भएको खेलमा विभागिय टोली एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय टिमका मुख्य खेलाडी प्रदीप सिंह ऐरीको कप्तानीमा रहेको एपीएफविरुद्ध टस जित्दै मधेसले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको एपीएफले २० ओभरमा ९ विकेट गुमाउदै एक सय ८६ रन मात्रै बनाउन सक्यो ।

एपीएफका लागि कप्तान ऐरीले ५५, सन्दीप जोराले ५४ र लोकश बलमे ३३ रन बनाउँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । एपीएफविरुद्ध मधेसका बिशाल पटेलले तीन, कप्तान हरिशंकर साह र प्रदीप पासवानले समान दुई/दुई विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेसका लागि बाराका खेलाडी अनिलकुमार साहले ५७ रन बनाए । अर्धशतक बनाउने क्रममा साहले ३६ बलमा ६ छक्का र दुई चौका प्रहार गरे । यसैगरी इमरान शेखले पनि ५० रन बनाउदै अर्धशतक बनाए । शेखले ३२ बलमा चार छक्का र तीन चौका प्रहार गरे ।

यस्तै बाराका पवन सर्राफले १९ बलमा ३३ रन जोड्दा रुपेश सिंह २१, मयन यादवले १५, कप्तान साहले १० रन बनाए । खेलको प्लेयर अफ दि म्याच अनिलकुमार साह घोषित भए ।

मधेसले अब उपाधिका लागि अर्को विभागिय टिम नेपाल आर्मी क्लबसंग शुक्रबार खेल्नेछ । आर्मीले सेमिफाइनलमा सन्दीप लामिछानेको नेतृत्वमा रहेको बागमती प्रदेशलाई चार विकेटले पराजित गर्दै उपाधि होडमा उभिएको हो । आर्मी विनोद भण्डारीको कप्तानीमा रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्टले ३० हजार, उत्कृष्ट बलरले २० हजार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्