डुमरवाना भेट्रान कप सुरु, उद्घाटन खेलमा आयोजक बिजयी


eShilalekh

१९ मंसिर २०८०, मंगलवार २१:०६

सिमराः आयोजक डुमरवाना भेट्रान क्लब मंगलबारदेखि सुरु भएको प्रथम डुमरवाना भेट्रान कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । डुमरवाना खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा श्री सगरमाथा युवा क्लब बगही पर्सालाई २–० ले पराजित गर्दै आयोजकले अन्तिम चारको यात्रा तय गरेको हो ।

डुमरवानाको जितमा शेखरकुमार लोप्चन र प्रकाश भट्टले समान एक-एक गोल गरे । डुमरवानाले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । लोप्चनको गोलबाट खेलमा अग्रता लिएको डुमरवानाका लागि भट्टले दोस्रो गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार दुई खेल हुनेछन् । पहिलो खेलमा हरिवन युवा क्लब सर्ला र थारु भेट्रान एफसीबीच भिड्नेछन् । यसैगरी दोस्रो खेल नव जनजागृति युवा क्लब भेट्रान सिमरा र बकुलिया भेट्रान क्लबबीच हुनेछ ।

मंसिर २५ गतेसम्म आयोजना हुने प्रतियोगितामा बारा, पर्सा, मकवानपुर, नवलपरासी र सर्लाहीका गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका, वडा नं. १५ कार्यालयको सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गरेका थिए । उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्