एनसेलको विरोधमा अनेरास्ववियु, शेयर खरिदबिक्री पारदर्शी नभएको आरोप


eShilalekh

२१ मंसिर २०८०, बिहीबार २२:४०

सिमराः मोबाइल सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री पारदर्शी नभएको र अर्बौ रकमको चलखेल भएको भन्दै नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्वमा विहिबार सिमरामा विरोध प्रदर्शन गरिएको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले हालै एनसेलको ८० प्रतिशत शेयर ‘स्पेक्ट्रलाईट युके लिमिटेड’ लाई बिक्री गरेको समाचार बाहिरिएसंगै आन्दोलित बनेको अनेरास्ववियुको नेतृत्वमा सिमरा चोकमा प्रदर्शन गरिएको हो ।

अनेरास्ववियुको केन्द्रीय कमिटीले एनसेलको शेयर खरिदबिक्रीमा कर छलि गरिएको भन्दै विरोध गरिरहेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य लक्ष्मी तिमिल्सिनाको नेतृत्वमा सिमरामा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा अनेरास्ववियु बारा अध्यक्ष सम्राट खनाल, एमाले निटक विभिन्न जनसंगठनका पदाधिकारी, स्थानीय युवाको सहभागिता रहेको थियो ।

प्रदर्शनका सहभागीले ‘एनसेलको आयव्यय सार्वजनिक गर,’ ‘एनसेललाई राष्ट्रियकरण गर’, ‘एनसेल शेयर खरिदबिक्रीको छानबिन गर,’ ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सडकमा भएको प्रदर्शनको नेतृत्व गरेको अनेरास्ववियुले माग पूरा नभएसम्म विरोधका कार्यक्रम जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्