महिलालाई समाजमा स्थापित गर्दै सहकारी


निलिसा वर्मा

२२ मंसिर २०८०, शुक्रबार ११:०४

सिमराः ‘दिदी कोहि पत्रकारलाई चिन्नु हुन्छ भने मेरो बाख्राको गोठको समाचार लेख्न भनिदिनु न ।’ ‘के भयो र गोठमा?’ भन्दै गरिएको प्रतिप्रश्नमा जवाफ आउँछ ‘केहि भएको छैन । आत्मनिर्भर बन्न एउटा बाख्राबाट सुरु गरेको बाख्रापालन अहिले सयौंको संख्यामा पुगेको देखेर अत्यन्तै खुशी छु । यस्तो समाचारले अरुलाई समेत प्रेरणा मिल्छ।’

बाख्रापालन गर्दै आएकी जीतपुरसिमरा २ की ४४ वर्षीय कल्पना क्षेत्री (बुढाथोकी) ले सहकारी संस्थाकी संचालकसंग गर्दै गरेको अवस्थाको संवाद हो । फुर्सदको समय निकालेर सहकारी संस्थाको कार्यालय आएकी कल्पनाले आफूले जसरी अरु महिलाले पनि बाख्रापालन गरे आत्मनिर्भर हुन सक्ने बताउने गरेकी छिन् ।

सहकारीमा आवद्ध हुनुअघि आर्थिक अभावको स्थिती झेलेकी कल्पना अहिले आत्मनिर्भर भएर परिवारलाई समेत सहयोग गर्न थालेकी छिन् । सामान्य लेखपढ जानेकी कल्पनाको सहकारीमा जोडिएपछि जिवनस्तर फेरिएको छ । ‘पहिला श्रीमानको तलब कुरेर बस्थे’ कल्पनाले भनिन् ‘अहिले श्रीमानलाई पनि सहयोग गर्न थालेको छु। ’

कल्पनाको जन्म सिमरामै भएको थियो । तराईबाट बिहे गरेर पहाडी जिल्ला पुगेनि उनि केही वर्षपछि श्रीमान र दुई छोराछोरीलाई लिएर पुनः सिमरा फर्किइन । माईत नजिकै भएपनि सिमरा आएर उनि भाडाको कोठामा बस्न थालिन् । श्रीमान्संग रोजगारी थिएन । जागिर खोज्दै सिमरा फर्केकी उनको आर्थिक अवस्था निकै कमजोर थियो । सिमरा फर्किएको केही समयपछि उनको श्रीमानले एउटा उद्योगमा ठेकेदारमार्फत मजदुरीको काम पाए । एकजनाको कमाईले चार जनाको खर्च धान्न मुश्किल थियो । काखमा रहेको सन्तानका कारण कल्पना आफू काम गर्न जान पाईनन् । त्यसोत उनिसंग सीप पनि केही थिएन् ।

‘म आत्मनिर्भर बन्न चाहन्थे तर के काम गर्ने? कहाँ गर्ने भनेर अल्मलिन्थे’ उनले भनिन् ‘जागीर गर्न पढाई राम्रो थिएन र हातमा सिप पनि थिएन् ।’ श्रीमानकै कमाईले जसोतसो घरखर्च टार्ने गरेको बताएकी उनले २०६२।६३ सालको जनआन्दोलनको समयमा भएको बन्दले श्रीमानको काम छुट्यो र तिन महिना घर बस्नुपर्दा अझ पीडा भोगेको अनुभव सुनाईन् । त्यो समय कल्पनाको परिवारको लागि निकै कष्टपूर्ण थियो । दुईजना छोराछोरीको जिम्मेवारी, कोठाभाडा, घरखर्चको जोहो गर्न उनलाई निकै समस्या भयो ।

‘बन्दीको बेला श्रीमानको काम छुटेपछि महसुस भयो कि आत्मनीर्भर हुन कति आवश्यक छ भनेर । मैले पनि कुनै व्यवसाय वा जागीर गरेको भए श्रीमानको काम छुट्दा यति समस्या हुदैन थियो’ उनले विगत सम्झिदै भनिन् ‘घरधनिले कोठाभाडाको लागी कहिल्यै दुखः दिएनन् तर घरमा खानलाई अन्न समेत थिएन ।’ त्यो क्षणमा मलाई परिवारको लागि केही गर्न नसकेको महसुस हुन्थ्यो ।

आर्थिक समस्या भोगिरहेको अवस्थामा छिमेकी महिलाले कल्पनालाई सहकारीको महिला बचत समूहमा बस्न सल्लाह दिईन् । सहकारी विषयमा कल्पना अनविज्ञ थिईन् । सहकारी के हो? यहाँ के हुन्छ? के फाईदा हुन्छ? उनलाई थाहा थिएन । छिमेकी महिलाको सुझाव मान्दै उनि सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको बचत समुहमा आबद्ध भईन् । ‘त्यतिबेला समुहमा प्रति महिना ३० रुपैयाँ बचत हुँदै आएको थियो । तर आफूसंग नुन किन्ने पैसा पनि नभएको बेला समुहमा बचत कसरी गर्ने चिन्ताले उनलाई झन पिरोल्न थाल्यो’ उनले सुनाइन् ‘तर पनि दिनको एक–एक रुपैयाँ जम्मा गरेर समूहमा बचत गर्न लागे । सहकारी र बचतको विषयमा बुझ्न थाले ।’

तर कल्पनाको आर्थिक अवस्था दिनप्रतिदिन झन् कमजोर हुँदै गयो र उनी समुहमा महिनाको ३० रुपैयाँ जम्मा गर्न समेत असमर्थ हुन थालिन् । र अन्त्यमा समुह छोड्ने निर्णय गरिन् । ‘बचत गर्न समेत सकस भएपछि म पूर्णरुपले समुहमा निष्क्रिय हुन थाले । पेट पाल्न त गाह्रो थियो, बचत कहाँबाट गर्नु ?’ उनले भनिन् । बचत गर्न नसक्ने अवस्था पुगेपछि उनी समूहमा जान छाडिन् ।

यता समुहमा कल्पनाको बचत हुन छोडेपछि सहकारीकी अध्यक्ष अनिता लम्साल अधिकारीले उनलाई भेटिन् । कल्पनाले आफ्नो आर्थिक अवस्थाको बारेमा अध्यक्ष लम्साललाई सुनाईन् । ‘दुई महिनापछि अनिता म्याडम मलाई खोज्दै आउनुभयो । मैले आफ्नो समस्या सबै सुनाए’ कल्पनाले भनिन् ‘समयमै बचत नगर्दा ब्याज समेत लाग्ने नियम थियो । म्याडमले ब्याज मिनाहा गरिदिने आश्वासन दिदै बचत नरोक्न आग्रह गर्नुभयो । त्यतिबेला श्रीमान्ले पुनः काम गर्न थाल्नुभएको थियो । ब्याज मिनाहा हुने भएपनि म पुनः समूहमा बचत गर्न राजी भए । समूहमा बचत गर्न थालेको केही समयपछि म शेयर सदस्यको रुपमा जोडिए ।

सहकारीको शेयर सदस्य भएपछि कल्पनामा आत्मनिर्भर बन्ने उर्जा बढ्न थाल्यो । उनले आफू आत्मनिर्भर हुन चाहेको चाहना सहकारी संचालकसमक्ष राखिन् । कल्पनाको अनुरोधलाई स्विकार्दै सहकारीले महिलालाई स्वरोजगार र आत्मनिर्भर कार्यक्रम अन्तर्गत निःशुल्क एउटा बाख्रा उपलब्ध गराउने निर्णय गर्यो । उक्त योजना अन्तर्गत सहकारीले बाख्रापालनका लागि आफ्नो सदस्यलाई निःशुल्क एउटा बाख्रा उपलब्ध गराउने गरेको थियो । सो वापत बाख्राले जन्म दिएको पहिलो पाठी सहकारीलाई फिर्ता दिनुपर्ने नियम थियो ।

सहकारीले बाख्रा संगसंगै उनलाई आत्मनिर्भर बन्ने साहस पनि दिएको थियो । सहकारीबाट बाख्रा पाएपछि कल्पनाको दैनिकी फेरियो । उनि बाख्राको स्याहारमा व्यस्त हुन थालिन् । केही समयपछि बाख्राले एउटा पाठालाई जन्म दियो । दोस्रो पटक एउटा पाठा र एउटा पाठी जन्मियो । सहकारी नियमअनुसार उनले पाठीलाई सहकारीमै फिर्ता गरिन् । केही समयपछि विस्तारै उनको गोठमा बाख्राको संख्या बढ्दै जान थाल्यो । उनले बाख्रापालनबाट आम्दानी गर्न थालिन् ।

‘एउटा बाख्राले मेरो जिवन परिवर्तन भयो । म आत्मनिर्भर भए र घरको अवस्था पनि सुध्रिदै गयो । कुनै बेला तीस रुपैयाँ बचत गर्न पैसा हुदैन थियो । बाख्रापालन गर्न थालेपछि महिनामा एक हजार, दुई हजार सम्म पनि बचत गर्न थाले’ उनले सुनाईन् । छोराछोरी पनि बिद्यालय जाने भईसकेका थिए । श्रीमान्ले पनि बाख्रापालनमा सहयोग गर्न थाल्नुभयो । बाख्रा चराउनेु, जंगल गएर घाँस ल्याउने काममा श्रीमान्ले सहयोग गर्थे । ‘श्रीमान् कारखानाबाट काम गरेर आउँथे तर बाख्रागोठको काम सघाउन मद्यत गर्थे । उहाँको सहयोग र हामी दुवैजनाको मेहनतले केही वर्षमै गोठमा बाख्राको संख्या सयौं पुग्यो’ उनले सुनाईन् ।

श्रीमान र आफ्नो आम्दानी मिलाएर उनले सिमरामा जग्गा किनिन् र काठको घर बनाईन् । ‘सहकारीले आत्मनिर्भर बनायो, बचत गर्न सिकायो र त्यहि बचत गरेको पैसामा केही ऋण थपेर सानो भएपनि काठको घर बनायौं । यता खसी बेचेरै छोराछोरीलाई निजि बिद्यालयमा पढाए’ उनले खुशि हुँदै बताईन् । बाख्रापालन पालन व्यवसायले आफ्नो जिवनस्तर फेरिएकोमा उनि दंग छिन् । अहिले उनको गोठ बाख्राले भरिभराउ छ । अहिले उनको गोठमा ४० वटा बाख्रा छन् । बाख्रापालन नै उनको आम्दानीको मुख्य श्रोत बनेको छ ।

यता कल्पना जस्तै जीतपुरकी प्रतिमा महतोको जिवन पनि सहकारीको समुहमा आबद्ध भएपछि फेरियो । उनी पनि सहकारीकै सहयोगमा आत्मनिर्भर छिन् । प्रतिमाको विवाह सानै उमेरमा भएको थियो । भारतमा जन्मेकी उनी विवाह पश्चात बाराको जीतपुर आईपुगिन् । विवाह भएर घर आउँदा श्रीमानको पहिलो श्रीमतीका तीन वटा छोरी थिए । सबभन्दा जेठी छोरीको उमेर र प्रतिमाको उमेरमा खासै फरक थिएन ।

करिब १४ वर्षको सानो उमेरमा विवाह गरेकी प्रतिमाले पढ्न पाईनन् । विवाहपछि श्रीमान, परिवारको मात्र नभई श्रीमानको पहिलो श्रीमतीका तीन छोरीको जिम्मेवारी पनि थपियो । अशिक्षित प्रतिमाको कलिलो काँधमा निकै ठुलो जिम्मेवारी आयो । उनले आफुसंगै तीन छोरी हुर्काउन थालिन् ।

आफू अशिक्षित भएपनि छोरीहरुलाई राम्रो शिक्षा दिन चाहन्थिन् उनि । परिवारको आर्थिक अवस्था कमजोर थियो । दैनिक गुजारा चलाउन प्रतिमाको श्रीमानले चियानास्ता खाजाको होटल संचालन गरेका थिए । संयुक्त परिवार भएकोले होटलबाट भएको आम्दानीले घरखर्च टार्न हम्मेहम्मे हुन्थ्यो । यता सानै उमेरमा प्रतिमा आमा बनिन् । पहिलो सन्तानका रुपमा उनले छोरालाई जन्म दिईन् । केही वर्षपछि उनि तीन सन्तानको आमा बनिन् ।

‘सानै उमेरमा म ६ सन्तानको आमा बन्न पुगे । आफु अशिक्षित थिए तर मेरा सबै सन्तानलाई राम्रो शिक्षा दिन चाहन्थे’ उनले भनिन् ‘एउटा सानो होटलले सबैको पढाईको खर्च, घरखर्च टार्न कठिन हुदै गयो ।’ आफ्नो तीन सन्तानको पढ्ने उमेर भईरहदा अन्य तीन छोरीको उमेर विवाह गर्ने भइरहेको थियो । तर आर्थिक अवस्थाका कारण प्रतिमा चिन्तित थिईन् । उनले गाँउमै ऋण खोजेर श्रीमान्को अघिल्लो श्रीमतीको छोरीको विवाह गरिन् ।

यता आम्दानी नभएपछि होटल बन्द गर्ने अवस्थामा पुग्यो । प्रतिमाले ऋणमै लिएको पैसाले सिलाई मेसिन किनिन् र गाँउकै एक महिलासंग सिलाईकटाई सिकिन् । आफूले सिकेर छोरीलाई पनि सिकाईन् । गाँउका महिलाको लुगा सिलाएर प्रतिमाले आर्थिक जोहो गर्न थालिन् । होटल बन्द भएर श्रीमान बेरोजगार भएपछि प्रतिमाले पुनः ऋण खोजेर ईलेक्ट्रिक पसल खोलिदिईन् । प्रतिमा लुगा सिलाउने काम गर्थिन् ।

यसबीचमै प्रतिमाले सहकारीमा आवद्ध महिला बचत समूहको बारेमा थाहा पाईन् । प्रतिमाको घर नजिकै महिलाहरु समूह बनाएर पैसा बचत गर्ने गरेका थिए । त्यहाँ बचत गरेपछि ऋण लिन पाईन्छ भन्ने उनले सुनिन् । उनले समूहमा जोडिने चाहना राखिन् । र सिलाईकटाईबाट भएको आम्दानी बचत गर्न थालिन् ।

उनले समूहको बचत बढाउदै लगिन् । श्रीमानको जीतपुर बजारमा पसल थियो भने सहकारीमा गरेको बचतको पैसाले घरकै एउटा कोठामा प्रतिमाले किराना र खाजानास्ताको पसल खोलिन् । ‘सहकारीमा जोडिएपछि आत्मनिर्भर बन्नका लागि थप हौसला मिल्यो’ उनले सुनाईन् ।

साहुसंग लिएको ऋण भन्दा सहकारीको ऋण तिर्न सजिलो हुने प्रतिमाले बताईन् । अहिले बचत संगसंगै ऋण तिर्न पनि सजिलो भएकोले घरको आर्थीक अवस्था सुध्रिदै गएको उनले सुनाईन् । केही बर्ष अगाडी प्रतिमाको श्रीमानलाई स्वास्थ्यमा समस्या भयो र पक्षघातका शिकार भए । उनका श्रीमान् अहिले पनि उपचाररत छन् । स्वास्थ्यमा सुधार हुँदै आएको छ । सहकारीकै सहयोग पाएर उनले आफ्नो दुई छोरालाई पनि आत्मनिर्भर बनाईसकेकी छिन् । उनका दुई वटै छोरा टेम्पो चलाउँछन् भने प्रतिमा अहिले पनि सिलाई गरेर परिवारलाई सम्हालिरहेकी छिन् ।

सहकारीले महिलालाई आत्मनिर्भर बनाउनका निम्ति बचत गराउने र ऋण उपलब्ध गराउनुका साथै समयसमयमा सीपमूलक तालिम पनि संचालन गर्ने गरेको छ । सहकारीले पशुपालन, जुत्ता बनाउने, क्रिस्टलको गहना बनाउने, च्याउ खेती, अचार बनाउनेजस्ता बिभिन्न तालिममा सहभागी गराई महिलालाई आत्मनिर्भर बनाएको छ ।

परनिर्भर महिलालाई आत्मनिर्भर बन्ने हौसला र परिवारलाई पाल्न सक्ने क्षमता समेत सहकारीबाट प्राप्त भएको उदाहरण हाम्रो समाजमा थुप्रै छ । यसकै एक अर्की उदाहरण छिन् जीतपुरसिमरा २ की सुमित्रा तिमिल्सीना । सुमित्रा २०६४ बर्षदेखि सहकारीमा आबद्ध छिन् । कक्षा १० सम्म अध्ययन गरेकी उनि विवाहपश्चात सिमरा आईन् । उनको श्रीमान् कारखानामा काम गर्छन् । श्रीमान्ले सुमित्रालाई सहकारीमा आवद्ध गराए र बचत गर्न सल्लाह दिए । सिमरा महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध भएर सुमित्राले प्रतिमहिना ३० रुपैया बचत गर्न थालिन् ।

‘त्यो बेला श्रीमानको मासिक तलब तीन हजार थियो । हाम्रो लागि त ३० रुपैयाँ बचत गर्न पनि ठुलो कुरा थियो । ३० रुपैयाँ बचत गर्न पनि श्रीमान् संग माग्नु पथ्र्यो तर अहिले पाँच सय देखि एक हजारसम्म आफैले बचत गर्ने भएको छु’ उनि भन्छिन् ‘सहकारी मेरो बुढेसकालको सहारा हो ।’ २०७२ सालमा सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले क्रिस्टलको गरगहना बनाउने तालिमको आयोजना गरेको थियो । परिवारको आर्थिक अवस्था कमजोर थियो । त्यसकारणले उनि आत्मनिर्भर बन्न चाहन्थिन् । तालिमका लागि २० जना महिलालाई छनोट गर्ने प्रक्रियामा सुमित्रा पनि छनोट भईन् ।

‘जीवनमा आउने समस्याले हामीलाई शिक्षा दिएर जान्छ । मेरो छोरा जन्मिदा देखिनै बिरामी थियो । हरेक हप्ताको तीन पटक बाबुलाई अस्पतालमै भर्ना गर्नुपथ्र्यो । एक त श्रीमान्को तलब कम थियो र म पनि आत्मनिर्भर थिईन।’ विगत सम्झिदै उनले भनिन् ‘ब्याजमा पैसा लिएर मैलै बच्चाको ज्यान जोगाएको छु । पाँच बर्षपछि बाबु बिद्यालय पढ्ने भएपछि मैले काम गर्न थाले ।’ आफ्नो सन्तानको ज्यान जोगाउन पनि ऋण लिनु परेको अवस्था सम्झिदा आफुलाई आत्मग्लानी भएको उनि बताउँछिन् ।

क्रिस्टलको गरगहना बनाउने तालिम लिएसंगै उनले घरमै क्रिस्टलको सामग्री बनाएर बेच्न थालिन् । उनले बनाएको क्रिस्टलका सामानको बिक्री बढ्न थाल्यो । सामान लिन घरमै ग्राहक आउन थाले । ‘ सोचेको भन्दा बढी माग भएपछि मैले श्रीमानलाई पनि सिकाए’ उनि भन्छिन् ‘अहिले म भन्दा राम्रो मेरो श्रीमानले क्रिस्टलको गहना बनाउनुहुन्छ ।’ चाडपर्वको बेलामा श्रीमानश्रीमती दुवैजना मिलेर क्रिस्टलको सामग्री बनाउने गरेको सुमित्रा बताउछिन् । बचत गर्न आवद्ध भएको सहकारीले जिवनस्तर नै फेरिदिएको उनि बताउछिन् । आर्थिक अवस्था सुध्रिदै गएपछि तिमिल्सिना दम्पतीले जग्गा किनेर घर समेत बनाईसकेका छन् । उनि घरमै पसल संचालन गर्ने तयारीमा छिन् ।

यसैगरी क्रिस्टलको सामग्री बनाउने तालिम लिई आत्मनिर्भर बन्न सफल भए्की अर्की महिला हुन् जीतपुरसिमरा ४ औराहकी ३९ वर्षीया दुर्गा थापा कार्की । दुर्गासंग पनि केही सीप थिएन् । उनको काखमा दुई वर्षको छोरी थियो । उनको श्रीमान् बैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनी आफ्नो काखमा रहेको सन्तानको स्याहार गर्थिन् । श्रीमान बाहिर भएपनि आर्थिक अवस्था कमजोर थियो ।

दुर्गाले विवाह गरेर आउँदा उनको श्रीमानसंग पहिलो श्रीमतीका एक छोरा र एक छोरी थिए । पहिलो श्रीमतीले छोडेर हिडेपछि उनको श्रीमानले दोस्रो विवाह गरेका थिए । विवाहपछि दुर्गाले एक छोरीलाई जन्म दिईन् । छोरीको जन्म हुँदा श्रीमान विदेश गईसकेका थिए । उनको श्रीमान अहिले पनि विदेशमै छन् ।

श्रीमान् विदेशमा भएका कारण दुर्गाले तीन सन्तानको हेरचाह आफै गर्थिन् । यसबीचमै दुर्गाले क्रिस्टलको सामग्री बनाउने सीप सिक्ने चाहना राखिन् । गाँउकै महिलाहरुबाट क्रिस्टलको सामग्री बनाउने तालिमको विषयमा जानकारी पाएकी दुर्गा सो विषयमा बुझ्न काखे छोरी बोकर सिमरा आईन् । उनले सिमरा महिला बचत तथा ऋण सहकारी संस्थामा पुगेर तालिमका लागि आवेदन दिईन् । तालिमका लागि उनि छनोट भईन् ।

‘काखे बच्चा बोकेर काम गर्ने कस्को रहर हुन्छ र? तर समयले बाध्य बनाँउछ ।’ उनि भन्छिन् ‘म मेरो श्रीमानको दोस्रो पत्नी । बिहे गरेर घर आउँदा श्रीमानको पूर्व पत्नीको दुई छोराछोरीको जिम्मेवारी काँधमा थपियो र विवाह भएकै वर्ष मेलै छोरीलाई जन्म दिए ।’ श्रीमान् बिदेशमा काम गर्नुहुन्थ्यो । विवाह पश्चात श्रीमान् पुनः बिदेश फर्केको उनी बताउँछिन् ।

‘विवाहपूर्व आमाबुवाको घरमा त सबै कुरा पुगेकै थियो । असल संघर्ष विवाहपछि सुरु हुने रहेछ’ उनले भावुक हुँदै भनिन् । श्रीमानले समयमा पैसा नपठाउदा आफू आत्मनिर्भर नहुँदाको पीडा अझ बढी महसुस भएको उनि बताउछिन् । ‘छोरी बिरामी हुँदा श्रीमान्लाई सम्पर्क गर्न खोजे तर सम्पर्क हुन सकेन्’ उनले भनिन् ‘त्यतिबेला म अत्यन्तै पीडित थिए । छोरीको उपचार गराउन समेत पैसा थिएन ।’

सोही समयदेखि आत्मनिर्भर हुने अठोट लिएकी उनले क्रिस्टलको सामग्री बनाउने तालिम लिईन् । अहिले उनि क्रिस्टलको गरगहना बनाउनुका साथै विभिन्न ठाँउमा पुगेर प्रशिक्षण दिन्छिन् । आफ्नो मनोबल उच्च राख्दै उनले सन्तानलाई राम्रो शिक्षा दिएकी छिन् । आफूलाई अझ दक्ष बनाउनका निम्ति उनि साना किसान सहकारी संस्थाले आयोजना गरेको सिलाइकटाइको तालिममा पनि सहभागी भएर सीप सिक्दैछिन् । कढाईको काम पनि सिक्दै छिन् । ‘जिवनमा आईपरेको दुखः र समस्याले नै हो परिवर्तन् ल्याउने । सायद पैसाको अभाव महसुस नभएको भए म आत्मनिर्भर बन्ने आँट पनि गर्दिन थिए’ उनि भन्छिन् ‘ आज आफूमाथी गर्व लाग्छ कि कोहि संग आश नगरी मैले आफुलाई सहकारी मार्फत सीप सिकेर आत्मनिर्भर भएको छु । अब छिट्टै पसल संचालन गर्नेछु ।’

सहकारी क्षेत्रबाटै आफूलाई स्थापित गर्न सफल अर्की महिला हुन् जीतपुरसिमरा उपमहानगरपालिका २ की अनिता लम्साल अधिकारी । झण्डै १३ वर्ष सिमरास्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व गरेकी अधिकारी अहिले सोही संस्थाको संरक्षकका रुपमा छिन् । उनको नेतृत्वमा सहकारीले ठुलो आकार लिएजस्तै यतिबेला उनि सहकारी क्षेत्रकी अगुवा महिलाको रुपमा फराकिलो परिचय बनाएकी छिन् । सहकारीको सक्रियताकै कारण उनि राजनीतिमा समेत सक्रिय छिन् । उनले राजनीतिक दलका विभिन्न संगठनमा बसेर नेतृत्वदायी भूमिकामा काम गरिरहेकी छिन् ।

अधिकारी बिक्रम संवत् २०५७ सालमा बचतकर्ताको रुपमा महिला बचत समूहमा प्रवेश गरेकी थिईन् । जहाँ महिलाहरु समूह बनाएर रकम बचत गर्ने र आवश्यकता अनुसार ऋण उपलब्ध गराउने गथ्र्यो । बुहारी भएर सिमरा आएकी अधिकारी यस क्षेत्रमा अनविज्ञ थिईन् । विवाह गरेर आएको केही समयपछि अभिभावकको रुपमा रहेकी उनलाई सासुले महिला समूहको सदस्य बनाएकी थिईन् । सोही दिनदेखि उनी वित्तिय क्षेत्रमा सक्रिय हुन् थालिन् । महिला बचत समूहमा बचतकर्ताको रुपमा सक्रियता रहेकी अधिकारीले करिब ६ वर्षपछि सहकारी संस्थाको अवधारण बनाईन् । उनले आफ्नै घरको एउटा कोठाबाट सहकारी संस्था संचालन गर्ने निधो गरिन् । महिला समूहमा सक्रिय रहदै आएका महिलाहरुकै सहभागितामा उनले सिमरा महिला बचत तथा ऋण सहकारी संस्था स्थापना गरिन् । अहिले एक हजार आठ सय सेयर सदस्य रहेको संस्थामा उनले १३ वर्ष नेतृत्व गरिन् ।

यसबीचमा उक्त सहकारी संस्था यस क्षेत्रको उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित भयो । आफ्नो सम्पूर्ण सेयर सदस्यलाई आत्मनिर्भर र स्वरोजगार बनाउन सहकारीको अभियान निरन्तर जारी छ । सहकारीले च्याउ खेती, बाख्रापालन, क्रिस्टलका गहना तथा सामग्री बनाउने, मखमलको जुत्ता बनाउने लगायतका उत्पादनमुखी तालिम दिएर महिला सदस्यलाई व्यावसायिक बनाउँदै र दक्ष जनशक्ति तयार गर्दै आएको छ । सीप दिने र उत्पादन गर्ने मात्र नभई सहकारीले बजारीकरणका लागि समेत सहयोग गर्ने गरेको छ ।

अधिकारीले विभिन्न सीपमूलक तालिमहरु सञ्चालनसंगै हिंसाबाट पीडित महिला तथा बालबालिकाको लागि पुर्नस्थापना केन्द्र समेत स्थापना गरेको छ । साथै संस्थाले सुत्केरी पोषण कार्यक्रम स्वास्थ्य शिविर आयोजना, क्यान्सर पीडितलाई सहयोग, किशोरी आत्मरक्षा तालिमजस्ता बिभिन्न काम अधिकारीले आफ्नो नेतृत्वमा सम्पन्न गरेकी थिईन् । एक दशकभन्दा बढी समय एउटै संस्थामा नेतृत्व गरेर स्थापित भएकी अधिकारी समाजका लागि उदारहणीय बनेकी छिन् ।

यता सहकारीमा आवद्ध भएर स्वरोजगार हुन खोजिरहेका महिलालाई स्थानीय तहले पनि सहयोग गर्ने गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १७ की दुखीमाया थिङ अहिले जीतपुरसिमरा उपमहानगरपालिकाकै सहयोगमा तरकारी खेती गरिरहेकी छिन् । नवरत्न कृषी सहकारी संस्थामा आवद्ध दुखीमाया गरिवी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रममार्फत आत्मनिर्भरतातर्फ अघि बढिरहेकी छिन् ।

उपमहानगरपालिकाले महिलालाई उद्यमी र स्वरोजगार बनाउन लघु उद्यमी समूह बनाएर लगानी गर्ने गरेको छ । सोही कार्यक्रम अन्तर्गत दुखीमाया यतिबेला रामनगर लघु उद्यमी समूहको अध्यक्ष छिन् । उनि अहिले समूहमा रहेर तरकारी खेती गर्छिन् । तरकारी खेतीबाट अहिले सोचेजस्तो आम्दानी हुन नसकेपनि सीपको विकास भएको उनि बताउछिन् ।

‘आम्दानी भन्दा पनि सीपको विकास भएको छ । गाँउमै केही आत्मनिर्भर बन्न सकिन्छ भने अनुभव पनि भएको छ’ दुखीमायाले भनिन् ‘पहिला सहकारीमा सामान्य बचत गथ्र्यौ । स्वरोजगार हुन खोजिरहेका थियौं । अहिले स्थानीय तहको सहयोगमा सीप सिकेर सामूहिक खेती गरिरहेका छौं, सन्तुष्ट छौं ।’

उपमहानगरपालिकाको मेड्पा कार्यक्रम अधिकृत दीपनारायण चौधरीले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उदेश्य रहेको बताए । महिलालाई सीप सिकाउने र आवश्यकताअनुसारको लगानी गरेर आत्मनिर्भर बनाउने कार्यक्रमबाट धेरै महिलाहरु लाभान्वित भईसकेको चौधरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्