सिमरामा माघ पहिलो साता मदन–आश्रित राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने


eShilalekh

२९ मंसिर २०८०, शुक्रबार २२:०८

सिमराः नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सिमरामा मदन–आश्रित स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । महासंघ जीतपुरसिमरा उपमहानगर कमिटीको भेलाले माघ पहिलो साता प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमाले मधेस प्रदेश कमिटिका सचिव मनोज पौडेलले खेल क्षेत्रको विकासको लागि प्रदेश सरकार र स्थानीय तहले कुल बजेटको १ प्रतिशत बजेट छुट्याउनुपर्ने बताए ।

स्थानीय तहले एक पालिका एक खेलमैदान, एक स्पोर्ट एकेडेमी र एक कबर्ड हलको कार्यक्रमलाई ल्याउनुपर्ने कुरामा पौडेलले जोड दिए । सचिव पौडेलले खेलाडीको प्रोहत्साहनका लागि खेलाडी भत्ताको ब्यबस्था गर्न स्थानिय सरकारसंग माग गरेका छन् । सिमरामा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भए खेल क्षेत्रमा जीतपुरसिमराको नयाँ पहिचान कायम हुने पौडलको भनाई थियो ।

जीतपुरसिमरा नगर कमिटीमा अध्यक्ष सोमलाल बोम्जनको अध्यक्षतामा सम्पन्न भेलामा एमाले प्रदेश कमिटीका सदस्य कमलेश झा, नेपाल खेलकुद महासंघ प्रदेश उपाध्यक्ष सम्झना राई, युवा संघका नगर कमिटी अध्यक्ष आरिफ हुसेन, सेराजुल अन्सारी, मानव खनाल, आयुश न्यौपानेलगायतले प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने तयारीका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा अनेरास्वबियुका नगर अध्यक्ष ईश्वर बस्नेत, नेकपा एमालेका नेता विनोद बस्नेत, मनहरी अधिकारी लगायतको उपस्थिति रहेको थियो । भेलाको सहजीकरण एमाले वडा नं. २ का अध्यक्ष रवीन्द्र खकुरेलले गरेका थिए भने स्वागत मन्तब्य गणेश थपलियाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्