मित्रता फर्किएको त्यो क्षण..


बिनिता खत्री

९ पुष २०८०, सोमबार १४:३१

म र उनी सानैदेखीको साथी । घर पनि नजिकै । सानैदेखि संगै हुर्कियौ । पढ्न पनि एउटै विद्यालयमा गयौ । उनी मेरो यस्तो साथी जसले मलाई हरेक कुरा भन्ने गर्थीन् । मैले पनि आफ्नो हरेक कुरा उनीलाई सुनाउने गर्थे । हामीबीच कुनै कुरा लुक्दैन थियो । उनीसंग आफ्नो कुरा भन्न पाउँदा मलाई आनन्द लाग्थ्यो र मन हलुका भएझै महसुस हुन्थ्यो । मैले उनीलाई केहि कुरा सुनाउदा उनीले मलाई राम्रो संग सम्झाउँने, बुझाउँने गर्थीन् । उनी मेरो असल मित्र थिईन । उनी माथी मलाई धेरै विश्वास लाग्थ्यो । उनी मलाई आफ्नो लाग्थ्यो ।

समय परिवर्तन हुँदै गएपनि हामी बीचको मित्रतामा कहिले केही परिवर्तन आएन । हामीले संगै एसइइको परिक्षा दियौं । हामी दुबै राम्रो अंकका साथ उतिर्ण भयौ । एसइइ उतिर्ण गरेपछि हामी दुबै एउटै क्याम्पस भर्ना भयौ । क्याम्पस भर्ना भएपछि हामी संगै पढ्न जान थाल्यौ । कक्षामा हाम्रो उमेरका अन्य साथीहरुको ध्यान मोबाईलमा हुन्थ्यो । उनिहरुको कुरा माया प्रेममा केन्द्रीत हुन्थ्यो । एकअर्काको माया प्रेमको विषयमा उनिहरु कुरा गरिरहेका हुन्थे । उनीहरुको यस्तो कुरा सुनेर हामीलाई अनौठो लाग्थ्यो । हामीलाई भने एकअर्कामा नै रमारहेका हुन्थ्यौ । यस्ता कुराहरुको हामीलाइ वास्ता हुदैन थियो । हामी पढाईलाई ध्यान दिन्थ्यौ । यसक्रममै हामी दुबै कक्षा ११ उतिर्ण भयौ ।

कक्षा १२ मा प्रवेश गरेको केही महिनामै मैले मेरो साथीको व्यवहारमा परिवर्तन देख्न थाले । म बिना कतै नजाने साथी एक्लै हिड्न थालिन् । एकान्त मन पराउन थालिन् । बोलाउदा पनि बहाना बनाउँन थालिन् । हामीबीच केही कुरा गोप्य थिएन । तर एक्कासी उसले आफ्ना कुराहरु लुकाउन थालिन् । कुरा गर्न खोज्दा टाडिन खोज्थिन् । म बाहेक अरुसंग नमिल्ने उनलाई म भन्दा प्यारो अरु साथिहरु लाग्न थाल्यो । यो व्यवहारले मलाई अचम्मित बनायो । मैले नै केही बिराए कि भनेर सोच्न थाले । मैले नै केही गल्ती गरे कि वा चित्त दुखाए कि भनेर बारम्बार आफै बोल्न जाँदा समेत उनले वास्ता गरिनन् ।

एकदिन म उसको घर गए । उसको दिदीसंग भेट भयो । हामी कुरा गर्दै थियो । कुरा गर्ने क्रममा मैले दिदीलाई उसको विषयमा जिज्ञासा राखे । ‘किन उसको व्यवहारमा परिवर्तन आएकोे छ’ भन्दै प्रश्न तेर्साए । दिदीले हास्दै भन्नुभयो ‘अब मायामा परेपछि यस्तै त हुन्छ’ । दिदीको कुरा सुनेर म अवाक भए । जुन कुरा साथीले आफैले भन्नुपर्ने थियो त्यो कुरा मैले उसको दिदीबाट सुन्ने अवस्था आयो । मेरो साथीले मलाई आफै नभनेसम्म मैले पनि उनलाई केही कुरा नसोध्ने निर्णय लिए । र उनीले आफै कहिले आएर मलाई यो कुरा सुनाउछिन् भनेर पर्खेर बसे ।

क्याम्पस जाँदा संगै गए पनि उनीले मलाई केही कुरा भन्दिन थिइन् । एउटै कक्षामा भए पनि हामीबीच यस्तो कुरा हुदैन थियो । यसरी नै हामी दुबैले कक्षा १२ पनि उर्तिण गर्यौ । क्याम्पस सकिएसंगै हामी दुबैको भेट हुन छाड्यो । बोलीचाली समेत कम हुँदै गयो । खोई त्यो कस्तो माया थियो जुन दुई साथीबीचको सम्बधमा पर्खाल झै खडा भयो ।

एकदिन एक्कासी मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो । मैले मोबाइल पनि भर्खरभर्खर किनेको थिए । नम्बर चिनेको थिईन । फोन उठाएर कुरा गर्दा आफ्नै बालसखा साथी रहेछिन् । उनको आवाज सुनेर म अचम्ममा परे । उनी एक्कासी रुन थालिन् । उ रोएको सुनेर म आत्तिए र घर नजिकै भएकाले दौडदै उनको घर पुगे । उसलाई भेटेर कुरा सुन्न थाले । उनले आफ्ना कुरा सुनाउन थालिन् ।

उनको भर्खरै ‘बे्रक अप’ भएको रहेछ । अर्थात आफ्नो प्रेमीसंग छुट्टिन पुगेकी रहेछिन् । उनको कुरा सुन्दै गए । उनी भर्खर फेसबुक चलाउन थालेकी रहेछिन् । उनले फेसबुकमा एउटा नचिनेको व्यक्तिलाई साथी बनाएकी रहेछिन् र उसैसंग कुरा गर्न थालेकी रहेछिन् । उनीहरुको अत्यधिक समय फेसबुकमै च्याट र फोन गरेर वित्ने रहेछ । त्यसबेला फेसबुक मात्र चलाउन मन लाग्ने, जो कोहि नचिनेको मान्छे बोल्न आउँदा पनि बोलिहाल्ने, आफ्नो साथीहरु पनि कोहि नचाहिने, एकान्तमा बसेर मोबाईल मात्र चलाएर हास्ने, अपरिचित व्यक्तिसंग कुरा गर्ने, कुरा गर्दै जाँदा त्यो बिना त बाच्न सक्दिन झै महसुस हुने गरेको भन्दै उनले आफ्ना कुरा सुनाउन थालिन् । उनको कुरा म एकोहोरो सुनिरहे ।

‘मैले आफ्नो परिवारलाई भन्दा पनि उसलाई आफ्नो संसार मानेको थिए । उ संग प्रेममा रहेको कुरा घरका मानिसले पनि थाहा पाउनुभएको थियो’ उनले सुनाईन् ‘यो कुरा अभिभावकलाई मन परेको थिएन । यो उमेरमा आफूलाई सम्हाल्नुपर्छ भन्दै मलाई सम्झाउनुहुन्थ्यो । तर मलाई उ नै प्यारो लाग्थ्यो । उसंग मात्रै बोल्न मन लाथ्यो । अभिभावकको कुरा जुन आज आएर सत्य लाग्दैछ । त्यतिबेला म अभिभावकसंग लुकेर उसंग कुरा गर्थे । ’

साथीको यस्तो कुरा सुनेर मलाई अचम्म लाग्यो । हामी दुबैको उमेर यस्तै १६/१७ वर्षकै थियो । उमेरकै दोष हुन्छ कि यो उमेरमा यस्तै हुन्छ ? मनमनै प्रश्न उब्जियो । आफ्नो जन्म दिने आमाबाबा भन्दा एउटा नचिनेको मान्छे, कहिले नभेटेको, नदेखेको मान्छे कसरी प्यारो हुन्छ ? यो उमेरमा त आफु भन्दा ठुलो र अभिभावकको कुरा सुन्नुपर्ने, आफुले नजानेका कुराहरु सिक्नुपर्ने, कसैले राम्रो कुराहरु गरिरहेको छ भने त्यसलाई अवलम्बन गर्नुपर्ने, केही नयाँ कुरा सिक्नेतर्फ जिज्ञासा राख्नुपर्ने हो । तर यस्तो किन हुँदैन? नराम्रो संगत नगर, कुलतमा नपर, नचिनेको मान्छेको संगत नगर, गलत काम नगर, नसोधी कुनै ठाउँमा नजा भनेर सम्झाउँदा अथवा रोक लगाउँदा सन्तानलाई अभिभावकको यस्तो कुरा किन मन पर्दैन ? मनमा प्रश्न बढ्दै जान थाल्यो ।

एउटै आमाको कोखबाट जन्मिएको सन्तानको त कुरा मिल्दैन् भने अपरिचित मान्छेसंग झन कसरी कुरा मिल्नु ? माया हुँदैमा मन, व्यवहार, आनिबानि, रुची, सबै मिल्छ र? साथीको कुरा सुन्दा उनीहरुको उमेरमा पनि खासै फरक थिएन् । एउटै उमेर भएकाले होला उनीहरुको सम्बन्ध बिस्तारै बिग्रिएको रहेछ । स–सानो कुराका झगडा पर्ने रहेछ । झगडा पर्ने कारण पनि खासै ठुलो हुदैन थियो । अरुसंग किन बोलेको? म्यासेज रिप्लाई किन नगरेको? अरुको फोटो/भिडियोमा किन रियाक्ट गरेको? जस्ता कुरामा उनीहरुबीच झगडा हुने गरेको रहेछ । साथीको यस्तो कुरा सुनेर मलाई मनमनै हाँसो उठ्न थाल्यो । एउटै उमेरका हामी दुईबीच पनि कति कुरा फरक पाईरहेको महसुस गरिरहेको थिए । उनलाई बिस्तारै उनको प्रेमीले वास्ता गर्न छाडेको रहेछ । उनीले गरेको म्यासेज, फोन कल रेस्पोन्स आउन छोडेछ । बारम्बार म्यासेज, कल गर्दा पनि उसले जवाफ दिदैन रहेछ ।

उनीलाई पनि केही थाहा थिएन प्रेमीले किन यस्तो व्यवहार देखाउदै छ भनेर ? स–सानो कुरामा झगडा भएपनि उनीहरुको सम्बन्ध निरन्तर चलिरहेको रहेछ । घरमा पनि उनीहरुको सम्बन्ध चलिरहेको छ भन्ने जानकारी रहेछ । साथीको हरेक कुरा उसलाई थाहा थियो । उनीले त्यो केटालाई घरमा थाहा भएको हरेक कुराको बारेमा थाहा दिएकी थिईन् । साथीको घरमा भने त्यो केटा स्वीकार थिएन । एक्कासी केटाको व्यवहार परिवर्तन भएको देखेर उनीले मानसिक तनाव लिन थालिन् । एकान्तमा मात्र बस्न थालिन् । कसैसंग हिड्डुल नगर्ने, घरबाट बाहिर नजाने गर्न थालिन् । कसैले केही सोध्यो भने रुन्थिन् । बारम्बार उनीले बोल्न खोज्दा पनि उताबाट भने जवाफ भने आउन छोडेपछि उनले मलाई सम्झेकी रहेछिन् ।

त्यो उमेर भनेको एउटा अपरिपक्क उमेर थियो । बिग्रने, गलत संगतमा पर्ने, गलत बाटोमा हिड्न सक्ने, कुतलमा फस्ने, अभिभावको कुरा नसुन्ने, कसैले राम्रो कुरा गर्दा पनि नराम्रो लाग्ने, आफूभन्दा ठुलाले सम्झाउँदा बुझाउँदा पनि रिस उठ्ने, आफूले गरेको हरेक काम सहि गरेको छु जस्तो लाग्ने, अभिभावकले रोकतोक गर्दा आफ्नो कुरा नै नबुझेको जस्तो लाग्ने हुन्छ । त्यसैले यस्तो उमेरमा अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ । अभिभावकले आफ्नो सन्तानलाई साथी जस्तो व्यवहार देखाउनुपर्छ । कतिपय परिवारमा बच्चाहरुले अभिभावकसंग खुलेर कुरा गर्न सकेका हुदैनन् । आफ्नो सन्तानलाई डर त्रासमा मात्र राखेका हुन्छन् । सन्तानले केही गलत काम गरेमा उनीहरुलाई पिट्ने, कराउने, गाली गर्ने, घरबाट निस्कन नदिनेजस्ता व्यवहार देखाउछन् ।

अभिभावकले यस्तो व्यवहार देखाउँदा बच्चाहरु झन गलत बाटोमा अघि बढ्ने खतरा उत्तिकै हुन्छ । उनिहरु लुकिछुपि गलत काममा लाग्न सक्छन् । परिवारले थाहा नपाउने तरिकाले गलत संगतमा पर्न सक्छन् । यस विषयमा सचेत हुनुपर्छ । आफ्नो सन्तानलाई गलत बाटोमा जान नदिन अभिभावकले सकेसम्म सम्झाउने, बुझाउने, मिठो बोल्ने, गलत काम गर्नु हुदैन भनेर राम्रो शिक्षा दिने गर्नुपर्छ । सन्तानले आफ्नो आमाबुवालाई हरेक कुराहरु भन्ने खालको वातावरण घरमा बनाउनुपर्छ । यदी मेरी साथीको हकमा यो कुरा लागू भएको भए यस्तो अवस्था आउदैन थियो होला ।

त्यो उमेरमा कतिपयले थाहा हुँदाहुँदै गल्ती गरेका हुन्छन् भने कतिपयले अन्जानमा गल्ती गर्न पुग्छन् । त्यो बेलामा एकअर्कामा आकर्षित हुनु स्वभाविक हो । तर आकर्षित हुने वित्तिकै बाच्न नै नसक्ने, त्यो बाहेक संन्सार छैन जस्तो लाग्ने, त्यसले भनेको सबै काम मान्नुपर्ने जस्ता व्यवहार देखाउनु हँुदैन । आफ्नो परिवार भन्दा ठुलो कोही भन्ने बुझ्नुपर्छ । त्यसैले परिवारको कुरा सुन्नुपर्छ । आफूभन्दा ठुला व्यक्त्ति, अभिभावकले सम्झाउँदा, बुझाउँदा सुन्ने गर्नुपर्छ । नयाँ ज्ञानका कुराहरु सिक्ने जिज्ञासा राख्नुपर्छ । केही गरेर देखाउँछु भन्ने सोच बनाउनुपर्छ । आफूलाई सक्षम नागरिक बनाउनुपर्छ ।

मैले मेरो साथीलाई यस्तै कुरा गर्दै सम्झाए । सुरुमा भक्कानिएकी उनि पछि खुशी हुन थालिन् । अब अभिभावकको कुरा सुनेर मात्रै अघि बढ्ने बताईन् । म संग पनि पहिला जस्तै सम्बन्ध बनाएर अघि बढ्ने सुनाईन् । उनको कुराले म पनि खुशी भए । एउटा साथीलाई सही समयमा साथ दिन सकेको भन्दै मनमनै खुशी हुँदै घर फर्किए ।

तपाई पनि आफ्नो साहित्यिक रचना, लेख, कथा, कविता प्रकाशन गर्न चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्