ग्रासरुट फूटबलः जनता माध्यमिक विद्यालयलाई खेल सामाग्री हस्तान्तरण


eShilalekh

१९ पुष २०८०, बिहीबार १७:१६

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित जनता माध्यमिक विद्यालयमा बिहीवारदेखि ग्रासरुट फूटबल शुभारम्भ भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच अखिल नेपाल फूटबल संघ (एन्फा) ले खेल सामाग्री हस्तान्तरण गरेसंगै ग्रासरुट फूटबलको शुभारम्भ भएको हो ।

केन्द्रीय कार्यक्रम अन्तर्गत ग्रासरुट फूटबल संचालनका लागि एन्फाले जनता माध्यमिक विद्यालयलाई छनौट गरेको छ । छनौटमा परेको विद्यालयमा सात दिन एन्फाकै उपस्थितीमा ग्रासरुट फूटबल संचालन हुनेछ । सात दिनपछि उक्त कार्यक्रम विद्यालयलाई हस्तान्तरण गर्ने र विद्यालयले उक्त कार्यक्रमलाई निरन्तरता दिनेछ ।

ग्रासरुट फूटबल संचालन गर्न एन्फाका उपाध्यक्ष दावा र एन्फा ग्रासरुट संयोजक पंकज शाहीले विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीलाई खेल सामाग्री हस्तान्तरण गरेका थिए । एन्फाले विद्यालयलाई ८० थान जर्सी, २० थान बलसहित अन्य सामाग्री हस्तान्तरण गरेको हो ।

खेल सामाग्रीसंगै एन्फाले ग्रासरुट फूटबलमा सहभागी विद्यार्थीलाई सात दिनसम्म पौष्टिक आहार (डाईट) र चार जना प्रशिक्षक उपलब्ध गराउनेछ । ग्रासरुट फूटबल संचालन गर्न स्थानीय स्तरमा बारा जिल्ला फूटबल संघले संयोजन गर्नेछ ।

ग्रासरुट फूटबल शुभारम्भ तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरापलिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा १४ की वडाध्यक्ष चयन गुरुङ, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, महासचिव प्रकाश गिरी, नव जनजागृति युवा क्लबका पूर्वअध्यक्ष राजकुमार भट्टराई, शिक्षक बरुण गौतमलगायतको उपस्थिती रहेको थियो । कार्यक्रम बारा जिल्ला फूटबल संघका अध्यक्ष लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्