पिएम कप क्रिकेटः प्रदेश स्तरीय छनौट खेलमा धनुषा र सिरहा बिजयी


eShilalekh

१९ पुष २०८०, बिहीबार १९:५४

सिमराः प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टिम चयन गर्न संचालन भईरहेको छनौट खेलमा बिहीबार धनुषा र सिरहा बिजयी भएका छन् । बारा र पर्सामा भईरहेको प्रदेश स्तरीय छनौट खेलमा धनुषाले महोत्तरीलाई सात विकेट र सिरहाले सप्तरीलाई ५० रनले पराजित गरेको हो ।

कलैया क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको महोत्तरीले ४२ ओभरमा सबै विकेट गुमाउदै दुई सय रन जोडेको थियो । महोत्तरीका लागि नविन यादवले ५१ रन जोडेका थिए । जवाफी ब्याटिङमा उत्रिएको धनुषाले ३४ ओभरमा दुई सय एक रन बनाउदै जीत हात पारेको हो । धनुषाका लागि हरिशंकर साहले ९४ रनको योगदान दिएका थिए । उनि प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी नारायणी क्रिकेट रंगशालामा सप्तरीले टस जितेर सिरहालाई ब्याटिङको निम्तो दिएको थियो । सिरहाले ३८.५ ओभरमा आफ्नो सबै विकेट गुमाउदै एक सय ४८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सप्तरी ९८ रनमै समेटियो । सप्तरीलाई सस्तैमा समेटने क्रममा सिरहाका रुपेश सिंहले चार विकेट लिए । सिंह प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार नारायणी रंगशालामा हुने खेलमा महोत्तरी र रौतहट भिड्नेछन् भने कलैया रंगशालामा हुने खेलमा सप्तरी र सर्लाही प्रतिस्पर्धा गर्नेछन् । यसअघि बुधवार भएको पहिलो दिनको खेलमा बारा र पर्सा बिजयी भएका थिए । बाराले सिरहालाई ५६ रनले पराजित गर्दा पर्साले धनुषालाई पाँच विकेटले हराएको थियो ।

मधेस प्रदेश क्रिकेट संघको आयोजनामा भईरहेको प्रतियोगितामा मधेसका आठ जिल्लालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पर्सा, रौतहट, महोत्तरी र धनुषा छन् भने समूह ‘बी’ मा बारा, सिरहा, सर्लाही र सप्तरी छन् । छनौट खेलको फाइनल पुष २५ गते नारायणी रंगशालामा हुनेछ ।

छनौट प्रतियोगितापछि १४ सदस्यीय मधेस प्रदेशको टिम चयन गरिनेछ । प्रतियोगिताबाट सहभागी खेलाडीबाट प्रदेश स्तरीय टिम चयन गर्न मुर्तुजा हवारीको नेतृत्वमा तीन सदस्यीय कमिटी बनाइएको छ । कमिटीको सदस्यमा बिकास लाल्दाली र सुनिल साह रहेका छन् ।

प्रदेशबाट छनौट भएको टिमले राष्ट्रिय स्तरको पिएम कप प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रधानमन्त्री कप यसै महिनाको अन्तिम साता सुरु हुँदैछ । प्रधानमन्त्री कपको खेल त्रिवि मैदान, मुलपानी र भैरहवामा हुनेछ ।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधी बिभागीय टिम एपीएफ क्लबले जितेको छ । त्रिवि मैदानमा बुधबार भएको फाइनल खेलमा कोशीलाई ११ रनले पराजित गर्दै एपीएफले पाचौं पटक उपाधी उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्