प्रधानमन्त्री कप क्रिकेटः पर्साले उचाल्यो मधेस प्रदेश स्तरीय छनौट प्रतियोगिताको उपाधी


eShilalekh

२५ पुष २०८०, बुधबार २१:४५

सिमराः प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको लागी मधेस प्रदेश स्तरीय टिम तयार गर्न आयोजित छनौट प्रतियोगिताको उपाधी पर्साले जितेको छ । वीरगन्जमा बुधबार भएको फाइनल खेलमा बारालाई १५ रनले पराजित गर्दै पर्साले उपाधी जितेको हो ।

नारायणी रंगशाला खेल मैदानमा टस जितेर ब्याटिङ रोजेको पर्साले २३ ओभरमा नौ विकेट गुमाउदै एक सय ३२ रन बनाएको थियो । पर्साका लागि हासिम अंसारीले २६ रन जोडेका थिए । बाराका बलर अनिलकुमार साहले पाँच विकेट लिएका थिए ।

यता एक सय ३३ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बाराले २३ ओभरमा ६ विकेट गुमाउदै एक सय १७ रन मात्रै बनाउन सक्यो । बाराका लागी निरज यादवले ५८ बलमा ४७ रन बनाए । बारालाई रोक्ने क्रममा पर्साका बलर सोनु शर्माले २५ रन दिएर तीन विकेट लिए ।

फाइनल खेलको प्लेयर अफ दि म्याच सोनु शर्मा घोषित भए । मधेसका आठ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको प्लेयर अफ दि सिरिज बाराका अनिलकुमार साह, बेस्ट बलर पर्साका संसाद अंसारी, बेस्ट ब्याट्सम्यान बाराका अरनिको यादव घोषित भए ।

पुस १८ गतेदेखि सुरु भएको छनौट प्रतियोगितामा सहभागी भएका आठै वटा जिल्लाबाट १४ जनाको मधेस प्रदेश टिम तयार गरिनेछ । खेलाडी छनौटका लागि मुर्तुजा हवारीको नेतृत्वमा छनौट समिति बनाइएको थियो । समितिको सदस्यमा विकास लाल्दाली र सुनिल साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्