९ वर्षपछि मनहर्वा गोल्डकपले निरन्तरता पाउँदै, तेस्रो संस्करण माघ दोस्रो साता


eShilalekh

२९ पुष २०८०, आईतवार ०७:३९

सिमराः झण्डै एक दशकदेखि आयोजना हुन नसकेको मनहर्वा गोल्डकप यस वर्ष हुने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी युवा क्लबले ९ वर्षपछि गोल्डकपलाई निरन्तरता दिन लागेको हो ।

लामो समयदेखि संचालन हुन नसकेको गोल्डकपललाई निरन्तरता दिँदै आयोजकले माघ १३ गतेदेखि तेस्रो संस्करण आयोजना गर्ने तयारी गरेको छ । आयोजक मौवादेवी युवा क्लबले पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको तयारी बारे जानकारी गराएको हो ।

माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा साविक विजेता नव दुर्गा युवा क्लब, हानामी बिएफसी चितवन, रिगल हेटौडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफसी, नमस्ते युवा क्लब हरिवन, वीरगन्ज युनाइटेड क्लब र आयोजक क्लबको सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र मिडफिल्डरले १० हजार, उत्कृष्ट प्रशिक्षकले पाँच हजार र उदयीमान खेलाडीले पाँच हजार प्राप्त गर्ने क्लबका पदाधिकारी रमेश खतिवडाले जानकारी दिए । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने एक टिमलाई फेयर प्ले अवार्डमार्फत २५ हजार नगदले पुरस्कृत गरिने खतिवडाले बताए ।

मौवादेवी युवा क्लबको खेल मैदानमा हुने प्रतियोगिताको अनुमानित लागत २० लाख ८६ हजार रहेको छ । पत्रकार सम्मेलनमा जीतपुरसिमरा १८ का वडाध्यक्ष चर्तुरवावु वाग्लेले पूर्वाधार विकाससंगै मानव विकासलाई ध्यानमा राखेर प्रतियोगितालाई निरन्तरता दिन लागिएको बताए । पूर्वाधार विकासमात्रै गरेर सामाजिक रुपान्तरण सम्भव नरहेको बताउँदै वडाध्यक्ष वाग्लेले मानव स्वास्थ्य र विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

वडाध्यक्ष वाग्लेले प्रतियोगिता संचालनका लागि वडा कार्यालयले तीन लाख विनियोजन गरेको समेत जानकारी दिए । वडा नं. १८ को कार्यालयसंगै वडा नं. १७ ले प्रतियोगिता संचालनका लागि सहयोग गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष बसन्त खतिवडाले जीतपुरसिमराको १८ र १७ को वडा कार्यालयसंगै उपमहानगरपालिका र अन्य वडा कार्यालयले प्रतियोगिताको निरन्तरताका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए । लामो समयदेखि संचालन हुन नसकेको प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै खतिवडाले फूटबलको निरन्तरतासंगै खेलाडी उत्पादनमा समेत जोड दिने बताएका छन् ।

क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च बाराका अध्यक्ष सुनिल गाँउलेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण प्रतियोगिताको संचार संयोजक पुष्पराज खतिवडाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्