एमाले बाराको अधिवेशन फाल्गुन दोस्रो साता हुने


eShilalekh

८ माघ २०८०, सोमबार २१:१७

सिमरा: नेकपा एमाले बाराको जिल्ला अधिवेशन फाल्गुन दोस्रो साता हुने भएको छ । जनकपुरमा सम्पन्न एमाले मधेस प्रदेश कमिटीको बैठकले फाल्गुन १२ र १३ गते सम्पन्न गर्नेगरी जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

बैठकले प्रदेशको अन्य जिल्लाको समेत अधिवेशन मिति तय गरेको छ । प्रदेश सचिव मनोज पौडेलका अनुसार  महोत्तरीको माघ २२ र २३ गते, रौतहटको माघ २५ र २६ गते, पर्साको माघ २८ र २९ गते अधिवेशन सम्पन्न गर्ने गरी मिति तय भएको हो ।

प्रदेशका अन्य जिल्ला सर्लाही, धनुषा, सिरहा र सप्तरीको जिल्ला अधिवेशन चैत्र महिनाको पहिलो साता सम्पन्न गर्न जिल्ला कमिटीलाई निर्देशन गरिएको सचिव पौडेलले जानकारी दिए ।

यसैगरी बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठक समेत तय गरेको छ। बैठकले बाराको माघ २० गते रौतहटको माघ १८ गते, पर्साको माघ २१ गते, सर्लाहीको र सिरहाको फाल्गुन ५ गते, धनुषा र सप्तरीको फाल्गुन ७ गते जिल्ला प्रतिनिधि परिषदको बैठक गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश अधिवेशनको समयमा नवीकरण भई केन्द्रबाट प्रमाणीकरण भएर आएका सदस्यबाट जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सचिव पौडेलले बताए ।

बैठकले चिसो र शीतलहरका कारण मधेस प्रदेशका नागरिक प्रभावित भइरहेको भन्दै तत्काल न्यानो कपडा, आगो ताप्ने दाउरा र राहतको व्यवस्था गर्न स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारसंग माग गरेको छ।

मधेस प्रदेश कमिटीका अध्यक्ष चण्डेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा एमाले केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल, लिलानाथ श्रेष्ठ र  केन्द्रीय सदस्य सरोज यादवसहित विभिन्न जिल्लाका अध्यक्षको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्