स्थानीय जनप्रतिनिधिले जनताको घरदैलोमा गएर गणतन्त्रको मर्म बुझाउनुपर्छः प्रधानमन्त्री प्रचण्ड


eShilalekh

१५ माघ २०८०, सोमबार १५:०३

सिमराः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । जनतालाई गणतन्त्रको मर्म बुझाउनु नसकिएको भन्दै प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

वीरगन्जमा सोमबार बारा र पर्साको स्थानीय तहका जनप्रतिनिधिसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानमा व्यवस्था भएका अधिकारबारे आमनागरिकलाइ बुझाउन स्थानीय तहले नागरिकको घरसम्म पुग्ने गरी जागरण अभियान वा घरदैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।

संविधानले मधेसका नागरिक, महिला, दलितलगायत उत्पीडित वर्ग र समुदायको पहिचान र अधिकारको प्रबन्ध गरेको प्रचण्डले स्पष्ट पारेका थिए । संविधानमा व्यवस्था भएबमोजिमका संघीय कानुन निर्माण उच्च प्राथमिकताका साथ भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रिया अघि बढेको बताए ।

संघीय कानुनहरूको निर्माणलाई तिव्रता दिन आइतबार कार्य विस्तृतिकरण प्रतिवेदनमाथि आफूले उच्चस्तरीय छलफल चलाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले संविधानको अनुसूचिमा व्यवस्था भएबमोजिम संघ, प्रदेश र स्थानीय तहको एकल र साझा अधिकार सूचिको व्यवस्थित गरिने स्पष्ट पारेका थिए ।

यसैगरी प्रचण्डले प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई वीरगन्जमा सम्बोधन गर्दै सरकारको ध्यान अब बजेट निर्माणमा केन्द्रीत हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जनताले विकासको अनुभूति हुने गरी बजेटको निर्माण गर्न सरकार लाग्ने बताए ।

अघिल्ला वर्षमा बजेटको पूर्ण तयारी नहुँदा विभिन्न समस्या आएको भन्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष पूर्वतयारीका लागि सरकारले काम सुरु गर्ने बताए । प्रचण्डले आगामी बजेटमा अघिल्लो वर्षका महत्वपूर्ण योजनाको निरन्तरता दिँदै कृषी र रोजगारमुलक बजेट निर्माण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्