मनहर्वा गोल्डकपः नवदुर्गाको जीतसंगै सेमिफाइनल समिकरण पूरा


eShilalekh

१६ माघ २०८०, मंगलवार १९:३४

सिमराः साविक विजेता नवदुर्गा युवा क्लब बारामा जारी तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका १८ स्थित मौवादेवी मैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा नवदुर्गाले बागमती युवा क्लबमाथि ५–१ को सहज जीत हात पारेको हो ।

नवदुर्गाको जीतसंगै मनहर्वा गोल्डकपको सेमिफाइनलको समिकरण पूरा भएको छ । नवदुर्गाले अब फाइनल प्रवेशका लागि रिगल हेटौंडा रिसोर्टसंग विहीबार प्रतिस्पर्धा गर्नेछ । रौतहट फूटबल क्लबलाई ५–१ ले पराजित गर्दै हेटौंडाले अन्तिम चारको यात्रा तय गरेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधवार पहिलो सेमिफाइनलमा भने आयोजक मौवादेवी युवा क्लब र वीरगन्ज युनाइटेड भिड्नेछन् । आयोजकले हरिवन र वीरगन्जले चितवनलाई पराजित गर्दै सेमिफाइनल भिडन्त पक्का गरेका थिए ।

यता २०७१ सालमा भएको दोस्रो मनहर्वा गोल्डकपको उपाधी जितेको नवदुर्गालाई प्रभावशाली सुरुवात गराउने क्रममा विदेशी खेलाडी चम्किए । नवदुर्गाको जीतमा फोफे फोफानाले ह्याट्रिक पूरा गर्दा रिचर्डले दुई गोल गरे । बागमतीका लागि आशिक स्याङ्तानले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच नवदुर्गाका फोफाना घोषित भए ।

प्रतिक्रिया दिनुहोस्