मनहर्वा गोल्डकप: उपाधीका लागि वीरगन्ज र हेटौंडा भिड्ने


eShilalekh

१८ माघ २०८०, बिहीबार २२:२७

सिमरा: साविक विजेता नवदुर्गा युवा क्लब सिमरालाई पन्छाउँदै रिगल रिसोर्ट हेटौंडा तेस्रो मनहर्वा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

जीतपुरसिमरा १८ स्थित मौवादेवी मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा नवदुर्गालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै हेटौंडा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछी नतिजा टाइब्रेकरमा निकालिएको हो । टाइब्रेकरमा हेटौंडाका लागि एलिश क्षेत्री, निमेश मोक्तान, सामुअल सुनार र कप्तान रोशन दोङले गोल गर्दा सुजल श्रेष्ठको प्रहार विपक्षी गोलरक्षक जयराम चौधरीले बचाउ गरे ।

यता सिमराका लागि सिसस थापा, मोहित गुरुङ र दीपेश चाम्लिङ राईको प्रहारले जाली चुम्दा विवेक गुरुङ र आयुश राना मगरको प्रहार हेटौंडाका गोलरक्षक गोपी बर्तौलाले बचाउ गरे । गोपी खेलको म्यान अफ दि म्याच घोषित भए ।

हेटौंडाले अब उपाधीका लागि शनिबार वीरगन्ज युनाइटेडसंग खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा आयोजक मौवादेवी युवा क्लबलाई २-० ले पराजित गर्दै वीरगन्ज फाइनलमा प्रवेश गरिसकेको छ ।

माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछ । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्