राष्ट्रिय टिममा बाराका दुई खेलाडीको पुनरागमन, साहको कीर्तिमानी अर्धशतक


eShilalekh

२७ माघ २०८०, शनिबार १९:२४

सिमराः झण्डै दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका बाराका अनिलकुमार साहले क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेका छन् । नेपाली राष्ट्रिय टिमको ओपनर ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका साहले क्यानडाविरुद्धको दोस्रो एक दिवसीय खेलमा अर्धशतक प्रहार गरेका हुन् ।

एक दिवसीय क्रिकेटमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडीको कीर्तिमान बनाउने क्रममा साहले १९ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ५० रन बनाएका छन् । यसअघि उक्त कीर्तिमान वीरगन्जका आशिफ शेखको नाममा थियो । गत वर्ष पपुवा न्युगिनीविरुद्ध २१ बलमा अर्धशतक प्रहार गर्दै शेखले बनाएको कीर्तिमान साहले तोडेका हुन् ।

अर्धशतक प्रहार गरेलगत्तै साह २०औं बलमा क्यानडाका इश्वरजोत सोहिबाट एलबीडब्लु आउट हुन पुगेका थिए । साहको उत्कृष्ट सुरुवातसंगै क्यानडाविरुद्ध दुई सय ८६ रन पछ्याएको नेपालले चार विकेटको जीत हात पारेको छ ।

जीतसंगै क्यानडाविरुद्धको तीन खेलको सिरिज नेपालले जितेको छ । नेपालले यसअघि क्यानडाविरुद्ध पहिलो खेलमा सात रनको रोमाञ्चक जीत हात पारेको थियो । सिरिजमा २–० ले अग्रता लिएको नेपालले अन्तिम खेलमा पनि जीत हात पारे ‘क्यानडा टुर अफ नेपाल’ सिरिज क्लिन स्वीप गर्नेछ ।

राष्ट्रिय टिममा बाराका दुई खेलाडी

क्यानडाविरुद्ध जारी एक दिवसीय सिरिजमा बारा कलैयाका अनिलकुमार साह र पवन सर्राफले झण्डै दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् ।

हालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका साह र सर्राफ क्यानडाविरुद्धको सिरिजमा राष्ट्रिय टिममा फर्किए । प्रधानमन्त्री कप क्रिकेटमा २५ वर्षीय साह उत्कृष्ट ब्याटर घोषित भएका थिए ।

घरेलु क्रिकेटमा देखाएको प्रदर्शनले पुनः राष्ट्रिय टिममा फर्कने अवसर पाएका साहले आफूलाई अब्बल सावित गरेका छन् । साहले २६ मार्च २०२२ मा पपुवा न्युगिनिविरुद्ध राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उक्त खेलमा १ रन बनाएका साह त्यसयता राष्ट्रिय टिममा पर्न सकेका थिएनन् ।

सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका साहले हालसम्म पाँच वटा एक दिवसीय खेल्दै ८२ रन बनाएका छन् । साहले क्यानडाविरुद्ध प्रहार गरेको कीर्तिमानी ५० रन उनको अन्तर्राष्ट्रिय एक दिवसीयमा बनाएको उच्च स्कोर पनि हो । यसअघि नेदरल्याण्डविरुद्धको डेब्यु खेलमा २१ रन बनाएका साहले अन्य खेलमा दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।

यता बाराका अर्का खेलाडी सर्राफ पनि लामो समयपछि मैदानमा फर्किएका छन् । २३ वर्षीय सर्राफले क्यानडाविरुद्ध पहिलो खेलमा १५ र दोस्रो खेलमा १४ रन बनाएका छन् । पहिलो खेलमा बनाएको १५ रन उनको व्यक्तिगत उच्च स्कोर हो ।

२०२२ जुलाई १६ मा नामिबियाविरुद्धको खेलपछि सर्राफ राष्ट्रिय टिममा पर्न सकेका थिएनन् । सर्राफले राष्ट्रिय टिमबाट हालसम्म १० वटा अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेका छन् । जसमा उनले ६० रन बनाएका छन् भने ६ विकेट लिएका छन् । सर्राफले राष्ट्रिय टिमबाट २०१९ जनवरी २५ मा युएईविरुद्ध डेब्यु गरेका थिए ।

सर्राफले राष्ट्रिय टिमबाट १७ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट समेत खेलेका छन् । सन् २०१९ फेब्रुअरी १ मा युएईविरुद्धको टी–२० मा डेब्यु गरेका सर्राफले २०२२ अगस्ट ३० मा केन्याविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसता उनी टी–२० राष्ट्रिय टिममा परेका छैनन् ।

पवन सर्राफ

प्रतिक्रिया दिनुहोस्