उत्कृष्ट पुनरागमनपछि बाराका साहले पाए आइसीसी लिग-२ खेल्ने अवसर


eShilalekh

२ फाल्गुन २०८०, बुधबार १६:३०

सिमराः क्यानडाविरुद्धको एक दिवसीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन देखाएका बाराका अनिलकुमार साहले आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने मौका पाएका छन् । दुई वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्ने क्रममा उत्कृष्ट प्रदर्शन देखाएका साहलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी लिग-२ मा समावेश गरेको हो ।

यसअघि माघ २१ गते राष्ट्रिय टिम घोषणा हुँदा साह अटाएका थिएनन् । साहलाई नामिबिया र नेदरल्याण्डसंग हुने त्रिकोणात्मक सिरिजका राखिएको थिएन । तर क्यानडाविरुद्धको प्रदर्शनपछि क्यानले यसअघि घोषित टिमबाट अर्जुन साउद र रिजन ढकालको नाम फिर्ता लिदै साह र यु-१९ का कप्तान देव खनाललाई लिग-२ को टोलीमा समावेश गरेको हो ।

साहले क्यानडाविरुद्ध पहिलो खेलमा कीर्तिमानी अर्धशतक र दोस्रो खेलमा शतक प्रहार गरेका थिए । उक्त प्रदर्शनकै कारण साह टिममा समावेश हुन सफल भएका हुन् ।

साहले अब बिहीवारदेखि सुरु हुने आइसीसी लिग-२ खेल्नेछन् । त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले नामिबियासंग खेल्दैछ । उक्त सिरिज खेल्ने नेपाली टोलीमा बाराका अर्का खेलाडी पवन सर्राफ समेत छन् । उनि पनि दुई वर्षपछि क्यानडाविरुद्धको खेलबाट राष्ट्रिय टिममा फर्किएका थिए ।

हालै सम्पन्न प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशबाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै साह र सर्राफले राष्ट्रिय टिम चयनकर्ताको मन जित्न सफल भएका थिए । प्रधानमन्त्री कप क्रिकेटमा २५ वर्षीय साह उत्कृष्ट ब्याटर समेत घोषित भएका थिए ।

सन् २०१८ अगस्ट १ मा नेदरल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका साहले २०२२ मार्च २६ मा पपुवा न्युगिनिविरुद्ध राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेका थिए । उक्त खेलमा १ रन बनाएका साह त्यसयता राष्ट्रिय टिममा पर्न सकेका थिएनन् ।

यस्तै अर्का खेलाडी सर्राफले २०२२ जुलाई १६ मा नामिबियाविरुद्धको खेलपछि सर्राफ राष्ट्रिय टिममा पर्न सकेका थिएनन् । सर्राफले राष्ट्रिय टिमबाट २०१९ जनवरी २५ मा युएईविरुद्ध एक दिवसीय खेलमा डेब्यु गरेका थिए ।

सर्राफले राष्ट्रिय टिमबाट १७ वटा टी-२० अन्तर्राष्ट्रिय क्रिकेट समेत खेलेका छन् । सन् २०१९ फेब्रुअरी १ मा युएईविरुद्धको टी-२० मा डेब्यु गरेका सर्राफले २०२२ अगस्ट ३० मा केन्याविरुद्ध अन्तिम खेल खेलेका थिए । त्यसता उनी टी–२० राष्ट्रिय टिममा परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्