शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त


eShilalekh

११ फाल्गुन २०८०, शुक्रबार १५:४९

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित शुभारम्भ कलेज प्रमुखमा शम्भु मण्डल नियुक्त भएका छन् । संचालकको रुपमा रहेका मण्डललाई कलेज व्यवस्थापन समितिले प्रमुखमा नियुक्त गरेको हो ।

प्रमुखमा नियुक्त भएसंगै मण्डलले शुक्रबार जिम्मेवारी सम्हालेका छन् । कलेजमा आयोजित एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरीले मण्डललाई पदभार गराएका थिए । पदभार कार्यक्रममा विभिन्न खेलकुद गतिविधिमा बिजयी भएका छात्रछात्रालाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. दीपक शाक्य, वडा नं. ७ का वडाध्यक्ष सुनिल गुप्ता, कलेजका अध्यक्ष लाल पुडासैनी, फकिरागिरी राजेश्वरगिरी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक राजु सिंहलगायतको उपस्थिती रहेको थियो ।

२०६६ सालमा स्थापना भएको शुभारम्भ कलेजमा वाणिज्य संकायमा स्नातक तहसम्म अध्यापन भइरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा अहिले दुई सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विभिन्न क्षेत्रका पाँच जनाले संयुक्तरुपमा कलेज स्थापना गरेका हुन् ।

कलेजसंगै सिमरा शुभारम्भ एकेडेमी समेत संचालनमा छ । २०५९ सालमा स्थापना भएको एकेडेमीमा तीन सय २७ विद्यार्थी पठनपाठन गरिरहेका छन् ।

को हुन् कलेज प्रमुखमा नियुक्त भएका मण्डल ?

शुभारम्भ कलेजको प्रमुखको जिम्मेवारी सम्हालेका मण्डल झण्डै डेढ दशकदेखि शिक्षण पेशामा आवद्ध छन् । जीतपुरसिमरा १ पथलैया घर भएका मण्डल २०६३ सालमा पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा लेखापालबाट प्रवेश गरेका थिए । उनि २०६७ तहमा निम्न माध्यमिक तहको शिक्षक नियुक्त भएका थिए ।

चार वर्ष निम्न माध्यमिक तहको अध्यापनपछि मण्डल २०७१ सालमा उच्च माध्यमिक तहको शिक्षकमा नियुक्त भए । अब्बल शिक्षकको रुपमा आफूलाई स्थापित गर्दै अघि बढेका मण्डल २०७६ बैशाख २ गते नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाको प्रध्यानाध्यापक नियुक्त भएका थिए ।

चार वर्ष प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेका मण्डलले २०८० साल मंसिर २९ गते राजीनामा दिएर कलेज प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । शुभारम्भ कलेजमा यसअघि अनिलप्रसाद चौधरी प्रमुख थिए । चौधरीले मंसिर ६ गते राजीनामा दिएर मण्डलका लागि प्रमुख हुने बाटो खुल्ला गरेका थिए । चौधरी पनि कलेज र एकेडेमीका संचालकमध्येका एक हुन् ।

शिक्षण पेशमा लामो समय बिताईसकेका युवाहरुको लगानीमा कलेज र एकेडेमी संचालनमा छ। आफ्नै जग्गा र भवनमा संचालित कलेज र एकेडेमीसंग दुई वटा स्कुल बस समेत छ । विद्यालय र कलेजमा ३७ जना शिक्षक र कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्