मधेस प्रदेशका ९ खेलाडी क्यानको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ मा


eShilalekh

१५ फाल्गुन २०८०, मंगलवार ११:०७

सिमराः नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ का लागि सार्वजनिक गरेको ‘सेन्ट्रल कन्ट्रयाक्ट’ को सूचिमा बाराका दुईसहित मधेस प्रदेशका ९ खेलाडी परेका छन् । मासिक सेवा सुविधा दिने गरी क्यानले पाँच तहको ग्रेड विभाजन गर्दै पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडी छनौट गरेको हो ।

क्यानले गरेको वर्गिकरणमा मधेस प्रदेशबाट सात पुरुष र दुई महिला खेलाडी परेका छन् । क्यानको वर्गिकरणमा पर्नेमा दुई वर्षपछि राष्ट्रिय टिममा फर्किएका बाराका अनिल साह र पवन सर्राफ समेत छन् ।

वर्गिकरण अनुसार बाराबाट दुई, पर्साबाट तीन, सर्लाही, महोत्तरी, सिरहा, सप्तरीबाट एक/एक जना खेलाडी छन् । क्यानको ग्रेड ‘ए’ को सूचिमा पर्साका आशिफ शेख छन् । उनले मासिक एक लाख तलब सुविधा पाउने भएका छन् ।

यसैगरी ग्रेड ‘बी’ मा पर्साका आरिफ शेख र सर्लाहीका गुलशन झा रहेका छन् । उनिहरुले ७० हजार तलब पाउनेछन् । ग्रेड ‘डी’ मा बाराका अनिल साह, पवन सर्राफ र सप्तरीका विवेक यादव छन् । उनिहरुले मासिक ३५ हजार पाउने भएका छन् । क्यानले ईमर्जिङ क्याटोगोरीमा मधेस प्रदेशबाट सिरहाका रुपेश सिंहलाई राखेको छ । सिंहले २५ हजार मासिक तलब लिनेछन् ।

यता महिलातर्फ महोत्तरीकी पूजा महतो र पर्साकी साना प्रविण क्यानको सूचिमा परेका छन् । ग्रेड ‘सी’ मा रहेकी महतोले ३० हजार पाउनेछिन् भने प्रविणले २० हजार मासिक प्राप्त गर्नेछिन् ।

यसअघि ग्रेड ‘ए’, ‘बी’ र ‘सी’ तीन तहमा वर्गिकरण गर्दै आएको क्यानले यस पटक ग्रेड ‘डी’ र ईमर्जिङ क्याटोगोरी थप गरेको हो । क्यानको फाल्गुन १२ र १४ गते बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्