जीतपुरसिमरामा लगाइयो ३७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप


eShilalekh

१८ फाल्गुन २०८०, शुक्रबार १३:५०

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकामा ३७ हजार भन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । फाल्गुन १३ गतेदेखि १७ गतेसम्म संचालन गरिएको खोप अभियानका क्रममा ९ महिनादेखि १५ वर्ष मूनिका ३७ हजार तीन सय ८१ बाललबालिकालाई खोप लगाइएको हो ।

पाँच दिने खोप अभियान संचालन गर्न उपमहानगरपालिकामा दुई सय भन्दा बढी जनशक्ति खटिएका थिए । उक्त जनशक्तिले एक सय २५ खोप केन्द्रबाट लक्षित बालबालिकालाई खोप लगाएका हुन् ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले ३५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । तर फाल्गुन १७ गतेसम्म खोप लगाउनेको संख्या ३७ हजार नाघेको छ । खोप लगाउन छुटेका केही स्थानमा शुक्रबार साँझसम्म अभियान संचालन हुने र उक्त संख्या केही बढ्न सक्ने को जनप्रवद्र्धन महाशाखा प्रमुख रवी भाष्करले जानकारी दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले जीतपुरसिमरामा ३२ हजार दुई सय ९७ बालबालिकाकालाई खोप लगाउनुपर्ने देखिएको थियो । तर रोजगार, व्यवसायका कारण विभिन्न स्थानबाट बसोबास गर्दै आएका नागरिकका सन्तानलाई समेत उपमहानगरपालिकाको केन्द्रबाट खोप लगाइएको हुँदा उक्त संख्या बढेको भाष्करको भनाई छ ।

सन् २०२६ मा दादुरा–रुबेलाविरुद्धको संक्रमण पूर्णरुपमा निवारण गर्ने उदेश्यसहित सरकारले देशभर खोप अभियान ल्याएको हो । उक्त अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय बाराले पनि जिल्लाभित्रको १६ स्थानीयमा तहमा तीन चरणमा खोप अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

जसअनुसार पहिलो चरणमा जीतपुरसिमरा, कलैया, प्रसौनी, परवानीपुर, फेटामा अभियान संचालन भएको छ । दोस्रो चरणमा फाल्गुन २० देखि २४ गतेसम्म निजगढ, कोल्हबी, करैयामाई, बारागढी र महागढीमाई नगरपालिकामा खोप लगाईनेछ । यसैगरी तेस्रो चरणमा सिम्रौनगढ, पचरौता, सुवर्ण, देवताल र आदर्श कोतवालमा चैत्र ४ गतेदेखि ८ गतेसम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय प्रमुख रामनरेश यादवले इशिलालेखलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्