जीतपुरसिमरा हरपुर क्रिकेट च्याम्पियन्स ट्रफिमा कलैयाको बिजयी सुरुवात


eShilalekh

२० फाल्गुन २०८०, आईतवार १५:५४

सिमराः कलैया क्रिकेट क्लबले ‘जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट च्याम्पियन्स ट्रफि’ मा बिजयी सुरुवात गरेको छ । जीतपुरसिमरा २४ स्थित हरपुर मैदानमा आइतबार भएको उद्घाटन खेलमा मकवानपुर क्रिकेट संघलाई ६ विकेटले पराजित गर्दै कलैयाले बिजयी सुरुवात गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय १६ रन बनाएको थियो । मकवानपुरका लागि गौरव खड्काले ४८, सुवर्ण भट्टले १४ र रामनरेश गिरीले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मकवानपुरविरुद्ध कलैयाका शंकर पौडेलले चार विकेट लिए । तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर पौडेलले चार विकेट लिएका थिए । यसैगरी भुलावन सहनी र कुमार थापाले एक–एक विकेट हात पारे ।

जवाफी ब्याटिङमा उत्रिएको कलैयाले १८.४ ओभरमा चार विकेट गुमाएर आफ्नो लक्ष्य भेट्टायो । कलैयाको जीतमा साहिल पटेलले ५४ रन प्रहार गर्दा निरज यादवले २८ र तृतराज दासले अविजित २० रन बनाए । मकवानपुरका रामनरेश गिरीले दुई विकेट र पियुश शर्माले एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सोमबार आयोजक हरपुर क्रिकेट क्लब र नेशनल इन्फोटेक पर्साबीच खेल हुनेछ । यसअघि जीतपुरसिमरका नगर प्रमुख राजन पौडेलले बलिङ र उपप्रमुख भोलाप्रसाद अधिकारीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्