जीतपुरसिमरा चौथो हरपुर टी–२० क्रिकेट प्रतियोगितामा पर्सा र रौतहट बिजयी


eShilalekh

२१ फाल्गुन २०८०, सोमबार १८:४६

सिमराः जीतपुरसिमरा चौथो हरपुर टी–२० च्याम्पियन ट्रफि क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा नेशनल इन्फोटेक पर्सा र गरुडा क्रिकेट क्लब रौतहट बिजयी भएका छन् । पर्साले आयोजक हरपुर क्रिकेट क्लबलाई सात विकेट र रौतहटले मकवानपुर क्रिकेट संघलाई एक विकेटले पराजित गरेको हो ।

हरपुर मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजक ३३ रनमै समेटिएको थियो । आयोजकका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन । १२.२ ओभरमा सम्पूर्ण विकेट गुमाएको आयोजकका लागि आजाद अंसारीले सर्वाधिक आठ रन बनाएका थिए ।

आयोजकलाई सस्तोमा समेटने क्रममा पर्साका सलमान मंसुरी र महमद सरीफ अंसारीले समान ३–३ विकेट लिए भने रंजित कुमारले दुई विकेट हात पारे । ३४ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको पर्साले ५.५ ओभरमा जीत हात पारेको थियो । पर्साका लागि राहुल हकले १३ रन बनाए । २.२ ओभर बलिङ गर्दै दुई रन खर्चिएर तीन विकेट लिएका महमद सरीफ अंसारी प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी दोस्रो खेलमा रौतहटले मकवानपुरमाथि एक विकेटको रोमाञ्चक जीत हात पारेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १५० रन बनाएको थियो । मकवानपुरका लागि शुभ कंसकारले ७६ रन बनाए । उनले ४६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी रामनरेश गिरीले २४ र सुमन सुनारले १५ रन बनाए । गरुडाका लागि डब्लु मलिक र अभिराज यादवले समान २–२ विकेट लिए ।

मकवानपुरले दिएको १५१ रनको लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको रौतहटले अन्तिम तीन बल बाँकी छँदा जीत हात पार्यो । रौतहटले १९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य भेट्टाएको थियो । रौतहटका लागि दिनेश अधिकारीले ४६, नितेश यादव २९ र रुपेश सिंहले २० रन बनाए । बलिङतर्फ मकवानपुरका रामनरेश गिरी र रोहित ठाकुरले समान ३–३ विकेट लिए । रौतहटका दिनेश अधिकारी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंगलबार गरुडा क्रिकेट क्लब र कलैया क्रिकेट क्लब पहिलो खेल हुनेछ भने दोस्रो खेलमा आयोजक र चितवन भिड्नेछन् । फाल्गुन २६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्