जीतपुरसिमरा हरपुर टी–२० क्रिकेटः गरुडालाई पराजित गर्दै कलैया सेमिफाइनलमा प्रवेश


eShilalekh

२२ फाल्गुन २०८०, मंगलवार १६:०८

सिमराः कलैया क्रिकेट क्लब जीतपुरसिमरा चौथो हरपुर टी–२० च्याम्पियन ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ । रौतहटको गरुडा क्रिकेट क्लबलाई १८ रनले पराजित गर्दै कलैया सेमिफाइनलमा प्रवेश गरेको हो ।

हरपुर मैदानमा मंगलबार टस हारेर बलिङको निम्तो पाएको कलैयाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १४६ रन बनाएको थियो । कलैयाका लागि ओपनर निरज यादवले २७ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ३१ रन बनाए । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरी कलैयाका तृतराज दासले ३९, अरनिको यादवले २८, निखिल सिंहले १३, महमद साइद अलिले १२ र साहिल पटेलले आठ रन बनाए । बलिङतर्फ गरुडाका लागि सन्नी साह, नितेश यादव, धर्मेन्द्र साह र डब्लु मल्लिकले समान एक–एक विकेट लिए ।

कलैयाले दिएको १४७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गरुडाले २० ओभरमा आठ विकेट गुमाएर १२८ रन मात्रै बनाउन सक्यो । गरुडाका लागि ओपनर अरविन्द चौधरीले ४७ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ४८ रन बनाएपनि टिमको हार टार्न सकेनन् । यसैगरी सोभेन्द्र पासवानले २०, शैलेन्द्र कुशवाहाले १३, धर्मेन्द्र साहले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कलैयाका लागि कुमार थापाले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । यसैगरी निखिल सिंहले दुई, भुलावन सहनी र सेराज हवारीले समान एक–एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत अहिले चितवन क्रिकेट संघ र आयोजक हरपुर क्रिकेट क्लबबीच दोस्रो खेल भईरहेको छ । यो समाचार तयार पार्दासम्म टस जितेर ब्याटिङ गरेको चितवनले आयोजकलाई १८० रनको लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको आयोजकले १०.३ ओभरमा दुई विकेट गुमाएर ५६ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्