ज्वालाकुमारी साह पुनः मन्त्री बन्दै, कृषी तथा पशुपंक्षी मन्त्रालय पाउने सम्भावना


eShilalekh

२३ फाल्गुन २०८०, बुधबार १६:०९

सिमराः प्रचण्ड नेतृत्वको नयाँ सरकारमा बारा क्षेत्र नं. ३ की सांसद एवम् एमाले पोलिटव्युरो सदस्य ज्वालाकुमारी साह पुनः मन्त्री बन्ने भएकी छिन् । एमालेले केन्द्रीय सचिव रघुविर महासेठको नेतृत्वमा सहभागी हुने ९ मन्त्रीको नाम टुंगो लगाउँदा साहले पुनः अवसर पाएकी हुन् ।

साह यसअघि २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री बनेकी थिईन् । तर राष्ट्रपति निर्वाचनमा प्रचण्डबाट धोका पाएपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

अघिल्लो वर्ष प्रचण्ड नेतृत्वको सरकारमा गएका चार मन्त्रीलाई पुनः अवसर दिँदै एमालेले मन्त्रीको नाम टुंगो लगाएको हो । मन्त्रीको नाम टुंगो लगाएपनि मन्त्रालय भने टुंगिन बाँकी छ । तर दुई पटक छोटो अवधिका लागि कृषी तथा पशुपंक्षी विकास मन्त्री बनेकी साहले तेस्रो पटक पुनः सोही मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।

यो संगै साह चौथो पटक नेपाल सरकारको मन्त्री भएकी छिन् । यसअघि उनि पहिलो पटक २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री भएकी थिईन् भने २०७८ मा केपी ओली नेतृत्वको सरकार र २०७९ सालमा प्रचण्ड नेतृत्वको सरकारमा कृषी तथा पशुपंक्षी विकास मन्त्री भएकी थिईन् ।

२०७९ सालमा मन्त्रीको सपथ लिदै ज्वालाकुमारी साह । (फाइल तस्वीर)

साह २०६४ सालमा नेकपा माओवादीबाट समानुतिक संविधानसभा सदस्यमा निर्वाचित भएकी साह २०७४ सालमा बारा क्षेत्र नं. ३(१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिईन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुवै पार्टी छुट्टाछुट्टै बाटोमा हिड्दा साह भने एमालेतर्फ लागिन् । जसका कारण माओवादी केन्द्रले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाएको थियो ।

प्रदेशसभा सदस्य पद गुम्ने भएपनि एमाले नछाडेकी साहलाई अध्यक्ष ओलीले मधेस प्रदेश (तत्कालिन प्रदेश २) को पार्टी अध्यक्ष समेत बनाएका थिए । साह २०७९ सालको निर्वाचनमा बारा क्षेत्र नं. ३ बाट जसपाका रामबाबु यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भईन् । प्रतिनिधिसभामा उनि निर्वाचित हुँदा प्रदेशसभातर्फको दुवै सिट पनि एमालेले जितेको थियो ।

यस्तो छ ज्वालाकुमारी साहको यात्राः

२०६४ सालमा समानुपातिक संविधानसभा सदस्य

२०६८ मा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्री

२०७४ मा प्रदेशसभा सदस्य निर्वाचित

२०७८ मा कृषी तथा पशुपंक्षी विकास मन्त्री

२०७९ मा पुनः कृषी तथा पशुपंक्षी विकास मन्त्री

२०८० मा मन्त्री

प्रतिक्रिया दिनुहोस्