एउटै सहारा तिम्रो मायाको…


Author

eShilalekh

June 27, 2021 3:00 am

जन्मिएको नौ महिनासम्म निजगढ-६, बाराका धनप्रसाद बजगाईंको स्वास्थ्यमा कुनै समस्या थिएन। आठ महिनामै हिँड्न सुरु गर्दा अभिभावकमा खुसियाली छाएको थियो।

सामान्य लेखपढ र कृषिमा निर्भर बजगाईं परिवारका अभिभावक आफ्ना सन्तानको स्वास्थ्यप्रति सचेत थिए। सन्तानलाई समयमै खोप दिन र स्वास्थ्य जाँच गराउन छुटाउँदैनथे। अघिल्ला तीन सन्तानलाई जस्तै बुवा तिलोक र आमा आनन्ददेवीले धनप्रसादलाई पनि नौ महिनाको उमेरमा दादुराविरुद्धको खोप (सुई) लगाए। तर उक्त खोपले भर्खरै हिँड्न थालेका धनप्रसादको पाइलामा भने सधैंका लागि पूर्णविराम लगाउन पुग्यो।

खोप (सुई) लगाएको ठाउँ सामान्य रूपमा केही दिन सुन्निने र कम हुँदै जाने हुन्छ। तर धनप्रसादको हकमा भने त्यस्तो हुन सकेन। सुन्निएको कम नभएपछि बजगार्इं परिवारले चिकित्सकको सल्लाह र घरेलु उपचारसहित धामीझाँक्रीसमेत लगाए। तर दिनप्रतिदिन धनप्रसादको घुँडाभन्दा तलको भाग सुक्दै जान थाल्यो।

करिब एक वर्षको विभिन्न प्रयासपछि पनि अन्तिम आशा बोकेर चिकित्सकलाई देखाउन पुगेका बजगाईं दम्पतीले छोराको खुट्टा ‘प्यारालाइज्ड’ भइसकेको र उपचार सम्भव नभएको थाहा पाए। खोपकै कारण खुट्टाको शक्ति गुमेपछि बजगाईं दम्पती निराश हुँदै घर फर्किए र त्यसयता कुनै प्रयास गरेनन्।

बजगाईं दम्पतीसहित दुई दिदी र एक दाइले उनलाई हेरचाहमा राखे। दाजु र दिदीले धनप्रसादलाई घरमै अक्षर चिनाए। खुट्टा नचल्ने भए पनि धनप्रसादको यात्रा भने रोकिएन।

उनले ह्विलचेयरकै सहारामा निजगढस्थित गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेर प्रवेशिका उत्तीर्ण गरे। अध्ययन गर्ने क्रममा अपांग संघसहित विभिन्न क्षेत्रमा उनको सक्रियता बढ्दै गयो। प्रवेशिकापछि उच्च शिक्षाका लागि वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस पुगे। स्नातक अध्ययनका क्रममा धनप्रसादको भेट पर्सा ठोरीकी रजनी अधिकारीसँग भयो। सांग रजनी र ह्विलचेयरको सहारामा हिँड्ने धनप्रसाद एउटै तहमा अध्ययन गर्थे। भेट भएको तीन महिनामै धनप्रसादले रजनीलाई प्रेम-प्रस्ताव गरे।

अपांगता भएका व्यक्तिलाई आफूजस्तै सबल व्यक्तिको खाँचो हुने निष्कर्ष निकाल्दै रजनीले धनप्रसादको प्रेम-प्रस्तावलाई सहजै स्वीकार गरिन्। रजनीको निर्णयलाई उनका अभिभावकले भने स्वीकारेनन्। तर पनि अभिभावकलाई सम्झाउँदै रजनीले धनप्रसादलाई साथ दिने निर्णय गरिन्। २०६३ सालमा उनीहरूको विवाह भयो।

विवाहपछि धनप्रसादको दैनिकी सहज हुँदै गयो। धनप्रसादको हरेक यात्रामा रजनीले साथ दिन थालिन्। सामाजिक क्रियाकलापमा समेत धनप्रसादको सक्रियता झन् बढ्दै गयो। अपांग संघमा आबद्ध भएर अपांगता भएका व्यक्तिको अधिकारका लागि धनप्रसादले निरन्तर आवाज उठाउँदै गए। निरन्तरको सक्रियतापछि हाल उनी नेपाल अपांग संघ बाराको अध्यक्ष भएर अपांगता भएका व्यक्तिका लागि काम गरिरहेका छन्।

स्नातकोत्तर तहमा अध्ययनरत धनप्रसादले विगत पाँच वर्षदेखि बाराको जितपुरसिमरा उपमहानगरपालिका-४, औराहस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गरिरहेका छन्। उनी सामाजिक र कम्युटर विषय पढाउँछन्।

रजनी विद्यालय नजिकै स्टेसनरी पसल चलाउँछिन्। सिमरा बस्न थालेका उनीहरू घरबाट सँगै निस्किएर आफ्नो काममा व्यस्त हुन्छन् र साँझ घर फर्कन्छन्। धनप्रसाद स्कुटर चलाएर विद्यालय र कार्यालय पुग्छन्। विद्यालयमा ह्विलचियरमै बसेर पढाउँछन्। बिदाको दिनमा रजनीलाई लिएर धनप्रसाद बजारमा किनमेल गर्नसमेत पुग्छन्।

उदाहरणीय दम्पतीका रूपमा समाजमा चिनिएका धनप्रसाद र रजनी निकै खुसी देखिन्छन्। यति मात्र नभई अन्य अपांगता भएका व्यक्तिका लागि धनप्रसाद प्रेरणाको स्रोत बनिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्