तेक्वान्दो खेलाडी कार्की र खड्काले हङकङमा जिते रजत पदक


eShilalekh

२७ फाल्गुन २०८०, आईतवार २०:०९

हङकङ: हङकङमा आयोजित २८औं एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् ।

काउलुन पार्कमा भएको खेलमा नेपालका सुरज कार्की र ओम खड्काले रजत पदक जितेका हुन् । कार्कीले ७४ केजी र खड्काले ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

उनिहरुलाई हङकङ तेक्वान्दो एसोसिएसनका अध्यक्ष चिङ म्यान चुङसहितका पदाधिकारीले पदक वितरण गरेका थिए । प्रतियोगितामा कार्की, खड्कासहित बिमल रोकाया, नियोल गुरुङलगायतका खेलाडीले  सहभागिता जनाएका थिए ।

एसोसिएसनको निमन्त्रणामा नेपालको तेक्वान्दो टोली प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री कुमार घिसिङको नेतृत्वमा हङकङ आएको हो । प्रशिक्षक घिसिङ र नेत्र तिमिल्सिनाले नेपाली टोलीको तर्फबाट हङकङका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए   ।

नेपाली टोलीमा अन्तर्राष्ट्रिय रेफ्री नबिना बुढाथोकी, प्रशिक्षक अर्जुनभक्त राई, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामालगायत सहभागी थिए ।

प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष आयोजक हङकङसहित नेपाल, मकाउ, भारत, मंगोलिया, कम्बोडिया, सिंगापुरलगायतका देशका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्