परवानीपुर गोल्डकपः रौतहटलाई पन्छाउदै हेटौंडा सेमिफाइनलमा


eShilalekh

४ चैत्र २०८०, आईतवार २१:३५

सिमराः हेटौंडा फूटबल एकेडेमी तेस्रो परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । परवानीपुरमा आइतबार भएको खेलमा रौतहटको चिडियादह स्टार क्लबलाई टाईब्रेकरमा ४–२ ले पराजित गर्दै हेटौंडा अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले २–२ को बराबरी खेलेपछि नतिजा टाईब्रेकरबाट निकालिएको हो । यसअघि खेलको सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा रौतहट स्तब्ध हुँदै घर फर्कन बाध्य भयो ।

रौतहटका लागि खेलको १९औं मिनेटमा गणेश धामीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर उनको अग्रता धेरै बेर टिक्न सकेन । हेटौंडाका दावा लामाले २२औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए ।

खेलको ५०औं मिनेटमा हेटौंडाका अन्जन बछारले गोल गरेर टिमलाई अग्रता उल्टाए । तर प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा रौतहटका विवेक विकले बराबरी गोल फर्काउदै खेललाई रोमाञ्चक बनाए । खेलको अन्तिम समयमा दुवै टिमले केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समय बराबरीमा सकिएको थियो ।

हेटौंडाका जीतमा नायक बनेका गोलरक्षक अस्विर गुम्बा प्लेयर अफ दि म्याच घोषित भए । उनलाई मनी आलमले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबार वीरगन्ज युनाईटेड क्लब र नव जनजागृति युवा क्लबबीच खेल हुनेछ ।

शक्ति युवा क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता चैत्र १० गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्