जीतपुरसिमरा क्रिकेट कपः रोमाञ्चक खेलमा मकवानपुर बिजयी


eShilalekh

६ चैत्र २०८०, मंगलवार २०:००

सिमराः जीतपुरसिमरा टि–ट्वेन्टी क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा मकवानपुर क्रिकेट संघ बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा मकवानपुरले जनकपुर पिस फाउण्डेशनलाई ३१ रनले पराजित गरेको हो ।

मकवानपुरको जीतमा अलराउण्डर शुभ कंसकार नायक बने । जनकपुरविरुद्ध शानदार सतक प्रहार गरेका कंसकारले बलिङतर्फ पाँच विकेट लिए । जीतपुरसिमरा ४ औराहस्थित सेज क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मकवानपुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।

ओपनरका रुपमा मैदानमा आएका कंसकारले विष्फोटक ब्याटिङ गर्दै १११ रन जोड्ने क्रममा ५५ बलमा आठ छक्का र नौ चौका प्रहार गरे । कप्तान सुमन सुनारले अविजित २४, गौरव खड्का र आस्तिक दाहालले समान १८ रन बनाए । जनकपुरका अधिकांश बलर महंगो सावित भए । उसका लागि बि. धवन सहनी, साइमोन रोय, अभिजित मण्डलले समान एक–एक विकेट लिए ।

मकवानपुरले दिएको १८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको जनकपुरले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटर चल्न नसक्दा १५० रनमै समेटिन पुग्यो । जनकपुरका ओपनर अलि अकबर अंसारी र हिमांशु दत्तले आक्रामक ब्याटिङ गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनिहरुले पहिलो विकेटका लागि ७९ रनको साझेदारी समेत गरेका थिए । तर मकवानपुरका अशिम श्रेष्ठले अंसारीको विकेट लिदै पहिलो सफलता हात पारे ।

अंसारीपछि क्रिजमा आएका बिशाल सुस्लिङ समेत उस्तै लयमा देखिदा जनकपुरको जीत सहज बनिरहेको थियो । तर खेलको १२औं ओभरमा बलिङ गर्न आएका कंसकारले सुस्लिङ र पर्शुराम यादवलाई एउटै ओभरमा पेभेलियन फर्काए । १७ बलमा १९ रन बनाउँदै खेलिरहेका सिस्लुङको विकेट लिएका कंसकारले त्यसपछि क्रिजमा आएका यादवलाई शुन्यमै आउट गरे ।

कंसकारले एक ओभरमै दुई विकेट लिएपछि जनकपुरको पालि धर्मराउन पुग्यो । १२१ को स्थितिमा दोस्रो विकेट गुमाएको जनकपुरले १३८ रन जोड्दा आठ विकेटको क्षति व्यहोरेको थियो । चन्दन यादवले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् ।

मकवानपुरका कंसकारले तीन ओभर बलिङ गर्दै सात रन खर्चिएर पाँच विकेट लिए । पियुश शर्माले दुई, समिर चौलागाईं, अशिम श्रेष्ठ र सुवर्ण भट्टले समान एक–एक विकेट लिए । कंसकार खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनलाई नेकपा एमालेका मधेस प्रदेश सचिव मनोज पौडेलले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवाबीच खेल हुनेछ । यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन् । यो समूहको विजेताले लागि पर्सा क्रिकेट संघसंग चैत्र १० गते उपाधिका लागि खेल्नेछ । समूह ‘ए’ को विजेता बन्दै पर्सा फाइनलमा प्रवेश गरिसकेको छ ।

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्