परवानीपुर गोल्डकपः सेमिफाइनल समीकरण पूरा


eShilalekh

६ चैत्र २०८०, मंगलवार २०:५२

सिमराः तेस्रो परवानीपुर गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । परवानीपुरमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा बागमती युवा क्लबले जीत हासिल गरेसंगै प्रतियोगिताको अन्तिम चारको टुंगो लागेको हो ।

प्रतियोगितामा यसअघि वीरगन्ज युथ एकेडेमी, वीरगन्ज युनाइटेड क्लब, हेटौंडा फूटबल एकेडेमीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । अन्तिम टोलीको रुपमा सेमिफाइनल पुग्ने क्रममा बागमतीले चितवनलाई २–० ले पराजित गरेको हो ।

बागमतीको जीतमा कपिल मगर र सुदीप मगरले एक–एक गोल गरे । खेलको २३औं मिनेटमा कपिलको गोलबाट अग्रता लिएको बागमतीले ६२औं मिनेटमा दोस्रो गोल थपेको थियो । कपिल म्यान अफ दि म्याच घोषित भए । उनलाई राजेश सर्राफले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार वीरगन्ज युथ एकेडेमी र वीरगन्ज युनाइटेड क्लब भिड्नेछन् । वीरगन्ज युथले आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेडले नव जनजागृति युवा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

चैत्र १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्